काठमाडौं। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको समस्या समfधानका लागि केही दिनभित्रै नयाँ निर्णय लिने बताएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई साक्षी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई अर्थतन्त्रका समस्या समाधान गर्न चाँडै नयाँ निर्णय लिने बताएका हुन्।
अर्थतन्त्र संकटमा गएको र निजी क्षेत्रको मनोबल गिरेकाले तत्कालै सरकारले उचित कदम चाल्नुपर्ने मागसहित भेट्न पुगेका महासंघ पदाधिकारीहरुलाई उच्च मनोबलसाथ काम गर्न अर्थमन्त्री पौडेलले अनुरोध गरेका हुन्। सरकार अर्थतन्त्रमा जारी समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउँदै निजी क्षेत्रलाई साथमै लिएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।
अर्थमन्त्री पौडेलले निजी क्षेत्र र अर्थ मन्त्रालयबीच समन्वय, वार्ता र छलफल गरेरै निकास निकाल्ने पक्षमा रहेको बताए। ‘मसँगै गभर्नरज्यू पनि हुनुहुन्छ, मैले बोलेको र जनाएका प्रतिबद्धतामा उहाँको पनि समर्थन छ,’ अर्थमन्त्री पौडेलले भने, ‘अब केही दिन मलाई दिनुस्, समस्या समाधान निकालेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ।’
अर्थमन्त्री पौडेलले महासंघ पदाधिकारीसहित गभर्नर अधिकारीलाई पनि बोलाएका थिए। तर, गभर्नर अधिकारीले भने कुनै प्रतिक्रिया दिएनन्। कतिपय समस्या राष्ट्र बैंकको नीतिगत समस्याका कारण भएको भन्दै उनले निजी क्षेत्रलाई सुधार गरेर लैजानुपर्ने बताए।
महासंघ अध्यक्ष शेखर गोल्छाले इतिहासमै पहिलोपटक निजी क्षेत्रले ठूलो समस्या भोगिरहेको गुनासो गरे। तत्कालै समस्या समाधानमा सरकारले उचित कदम नचाले निजी क्षेत्र पूर्णरुपमा पलायन हुने अवस्था आएको उनको भनाइ थियो।

राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जालाई दुई वर्षसम्म स्थगन गर्ने र बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन नदिन आवश्यक नीति ल्याउनुपर्नेमा उनले जोड दिएका छन्। अहिलेको समस्या तत्कालै समाधान नभए विकरालरुप लिनेतर्फ पनि अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन्।
गोल्छाले बैंकहरुको चर्को ब्याज तत्कालै नियन्त्रण गर्न राष्ट्र बैंक लाग्नुपर्ने बताए। बढ्दो ब्याजदर र बैंकहरुको दबाबका कारण ४/५ जना व्यवसायीले आत्महत्यासमेत गरिसकेको बताउँदै तत्कालै समाधानको उपाय ननिकाले यो संख्या धेरै हुन सक्नेप्रति समेत सचेत गराए।
आर्थिक मन्दी छाएकै कारण उत्पादनमा ठूलोमात्राले कटौती भएको प्रभाव प्रत्यक्षरुपमा रोजगारीमा पुग्ने बताए। अहिले सिमेन्ट र छड उत्पादन ३० प्रतिशतमा सीमित रहेको, खाद्यान्न १० प्रतिशत, विद्युतीय सामग्री खरिदमा ५५, बिमा क्षेत्रमा ४०, रेस्टुराँ २०, होटल ४०, घरजग्गा ४५ र डिजेलमा २५ प्रतिशत संकुचन आएको बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारी नीतिको विरोधमा देशभरिका व्यवसायी आन्दोलनमा उत्रिएको बताए। ‘व्यापार–व्यवसायमा व्यस्त हुनुपर्ने व्यवसायीहरु आन्दोलनमा उत्रिनुपर्ने अवस्था सरकारी नीतिकै कारण आएको हो,’ उनले भने।
महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले निर्यातमा संकुचन आउँदा उद्योगहरुमा उत्पादन कमी आएको बताए। जसका कारण कर्मचारी कटौती गर्नुपर्ने वा तलब रोक्नुपर्ने अवस्था सिर्जना भएको बताए।
अर्का उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारमा मन्दी छाएका कारण व्यापारमा गिरावट आएको बताए। सोही कारण भएका कर्मचारीसमेत निकाल्नु पर्ने अवस्था आएको बताए। ‘अहिले कतिपय कर्मचारीलाई सिफ्टमा काम लगाएको र केहीलाई बेतलबी बिदासमेत दिनुपरेको छ,’ उनले भने ।