काठमाडौं। अर्थ मन्त्रालयको नेतृत्व गर्दा डा. युवराज खतिवडाले निजी क्षेत्रलाई देखि सहेनन्। खतिवडाले केही नबुझेको, नजानेको, आफू स्वार्थ मात्रै लिएर आफूलाई भेट्न आउने कोटीमा राखेका थिए– निजी क्षेत्रलाई।
केपी ओली सरकारका पालमा साढे २ वर्ष अर्थ मन्त्रालय सम्हालेका खतिवडा र निजी क्षेत्रबीच कार्यकाल भरि सम्बन्ध सुध्रिएन। उनीहरुले जस्तोसुकै माग लिएर गए पनि त्यसलाई खतिवडाले स्वार्थको घडा मात्रै देखिरहे।
हरेक विषयलाई सामान्य रुपमा लिइदिने, जेन्युन कुराहरू पनि सम्बोधन नगरिदिने र निजी क्षेत्रको अस्तित्वलाई समेत स्वीकार नगर्ने खतिवडाको प्रवृत्ति थियो। तर, शनिबार नेपाल साहित्यिक महोत्सवमा पुगेका खतिवडाले निजी क्षेत्र खुलेर प्रशंशा गरे। उद्योगपति निरन्जन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा खतिवडा वक्ताका रुपमा थिए।
उनीसँग अर्थशास्त्री डा. स्वर्णीम वाग्ले र विमला राई पौडेल पनि वक्ताकै भूमिका थिए। वाग्ले र राईले अन्य नीति नियम बन्दा जुन तहमा संसदभित्र बसह हुन्छ, त्यो तरिकाले आर्थिक नीति निर्माण हुँदा हुँदैन भनेका थिए।
राई र वाग्ले निजी क्षेत्रको विकासबीना आर्थिक समृद्धि असम्भव रहेको कुरा हरेक सार्वजनिक कार्यक्रममा दोहोर्याइरहन्छन्। तर, धेरै समयपछि सार्वजनिक कार्यक्रममा भाग लिएका खतिवडाले पनि वाग्ले र राईकै भनाइमाथि समर्थन जनाउँदै अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको र निजी क्षेत्रको सम्मान बिना आर्थिक समृद्धि हासिल गर्न नसकिनेतर्कमै उभिए।
खतिवडाले समाजमा सबै चोर, बदमास नहुने बताए। राजनीतिमा पनि सबै व्यक्ति बदनाम हुँदैन। सबै क्षेत्रमा केही न केही कानुन विरोधी कुरा गर्ने व्यक्तिहरु हुने गरेको उनको भनाइ थियो। समाजले नचाहेको अवान्छित गतिविधि गर्ने सानो समूह हुन्छ, त्यसलाई लक्षित गरेर समाज वा अर्थतन्त्रलाई सामान्यकृत नगर्न सुझाएका छन्।
खतिवडाले निजी क्षेत्र विकासको सम्वाहक हो, आर्थिक वृद्धिको सम्वाहक हो, रोजगारीको सम्वाहक हो। निजी क्षेत्रले कर बढी तिर्छ। यत्रो आर्थिक क्रियाकलाप अघि बढाइरहेको खतिवडाको तर्क छ। अर्थतन्त्रलाई यो तहमा पुर्याउने निजी क्षेत्रलाई कसैले पनि चोर भन्न नहुने खतिवडाले बताए। ‘यदि कोही व्यवसायीले गल्ती गर्छ भने त्यसलाई कानुनी दायरामा ल्याउने कानुन छँदै छ नी’ खतिवडाले भने।