काठमाडौं । नेपालको निर्यात व्यापारमा ठूलो हिस्सा ओगटेको पाम आयल र भटमासको तेल निकासी घटेको छ । साउनदेखि भटमासको तेल निर्यात घट्न सुरु भएको हो ।
पाम आयलको निकासी भदौदेखि घट्न थालेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएको छ । चालू आर्थिक वर्षको ४ महिनामा पाम आयलको निर्यात ४७.३ प्रतिशत घटेको छ । यस्तै भटमासको निर्यात ७९.८ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १९ अर्ब २ करोड रुपैयाँको पाम तेल निर्यात भएको थियो । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा घटेर १० अर्ब २ करोड रुपैयाँमा झरेको छ ।
गत आर्थिक वर्षको ४ महिनामा २६ अर्ब ४० करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको थियो । यो आर्थिक वर्षको पहिलो चौमासिकमा घटेर ५ अर्ब ३२ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
गत आर्थिक वर्ष पाम र भटमास गरी ८९ अर्ब रुपैयाँको तेल निर्यात भएको थियो । जसअनुसार ४१ अर्ब ६ करोड रुपैयाँको पाम आयल र ४८ अर्ब १३ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको थियो ।
पाम आयल र भटमासको तेल निर्यातमा आएको कमीले मुलुकको कुल निकासी व्यापार ३३.३ प्रतिशत घटेर ५४ अर्ब ७७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा ८२ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा कुल वस्तु निर्यात ४१.७ प्रतिशत बढेर २ खर्ब रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
पाम आयल र भटमासको तेल बिक्री घट्दा यो वर्ष नेपालको निकासी व्यापारमा असर गर्ने संभावना बढेको छ । पाम र भटमास नेपालको उत्पादन हैन । उद्योगहरुले मलेशिया र इन्डोनेसियाबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन तथा प्याकेजिङ गरि भारतमा निर्यात हुने गरेको छ ।
यस्तै भटमास युक्रेन, ब्राजिल र अर्जेन्टिना लगायत मुलुकहरुबाट आयात हुने गरेको छ । भटमासको पनि पामको जस्तै प्रशोधन र प्याकेजिङ गरि भारतमा निर्यात हुने गरेको छ ।
नेपाल तेल उत्पादक संघका अध्यक्ष सन्दीप गाडिया अन्तर्राष्ट्रिय बजारमा माग घटेका कारण तेल निर्यातमा कमी आएको बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा नै तेलको व्यापार घटेको छ,’ गाडियाले क्यापिटल नेपालसँग भने ‘अन्तर्राष्ट्रिय बजारमा नै कारोबार घटेको कारणले नेपालबाट हुने तेल निर्यातमा कमी आएको हो ।’

गएको कात्तिकमा भारतले पाम आयलमा आयात कर बढाउने तयारी गरेको चर्चा भएको थियो । आयातमा भन्सार दर बढाउने कुरा उठेपछि नेपालको निर्यातमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको थियो । तर, भारतले आयात कर बढाएको छैन । त्यै पनि निर्यातमा गिरावट आएको अध्यक्ष गाडियाले जानकारी दिए ।
राष्ट्र बैंकको तथ्यांकका अनुसार जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने भटमासको तेल, पाम तेल, पिना, ऊनका सामान र लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ । पाम र सोयाविन तेलको निर्यातमा आएको कमिले समग्र निकासी व्यापारमा असर पुग्ने अनुमान गर्न थालिएको छ ।