काठमाडौं। चालू आर्थिक वर्षकाे तेस्रो महिनादेखि सुधारकाे क्रममा रहेका अर्थतन्त्रका मुख्य सुचकहरू थप सुदृढ देखिएका छन्। खास गरी सवारीसधन (चार पांग्रे र दुई पांग्रे), माेबाइल र मदिराकाे आयात राेकि रहँदा अर्थतन्त्रका बाह्य सुचकहरू सकारात्मक देखिएकाे हाे।
गत कात्तिकसम्म विदेशी विनिमय सञ्चितिमा सुधार हुन गई शोधनान्तर बचत वृद्धि भएको छ। यस्तै रेमिट्यान्स आप्रवाहमा सुधार, कूल वस्तु व्यापार घाटामा कमी आएको छ। वस्तु आयात प्रतिबन्धले मुलुकको बाह्य क्षेत्रमा देखिएको सुधारबाट मुलुककाे आर्थिक तथा वित्तीय अवस्थाका प्राय: सूचक सकारात्मक देखिएकाे छ। शोधनान्तर स्थितिमा सुधार आई २० अर्ब ३ करोडले बचतमा छ। गत असोजमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा थियो।
कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा बढेर ९ अर्ब ६३ करोड पुगेको छ। कात्तिकमा ९ अर्ब ४८ करोड डलर थियो। आर्थिक वर्ष २०७९/८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।

चौथो महिनामा आयात १८.१ प्रतिशत, निर्यात ३३.३ प्रतिशत बढेको छ। निर्यात बढ्दा कूल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, तयारी पोसाकलगायत वस्तु निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतको निर्यात घटेको छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशत र अमेरिकी डलरमा १०.८ प्रतिशत बढेको छ। सरकारले आयातमा लगाएको प्रतिबन्ध र बैंकको ब्याजदर वृद्धिले आर्थिक तथा वित्तीय अवस्थामा सुधार हुन थालेको हो।
आयात प्रतिबन्ध कायम रहँदा विदेशी मुद्रा सञ्चितिमा सुधार आउनुका साथै शोधनान्तर अवस्थामा थप सुधार आएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाले देखाएको छ। यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत छ। आयातमा भएको प्रतिबन्धले कर्जा प्रवाह खुम्चिएको छ।

१४ महिनादेखि निरन्तर घाटामा रहेकाे भुक्तानी सन्तुलन १५औं महिना असोजदेखि बचतमा आएको थियो। सरकारले पुस १ देखि आयातमा लगाएको सबै प्रतिबन्ध हटाएकाले वस्तु आयात बढेर डलर सञ्चिति घट्न गई फेरि शोधनान्तर बचतमा दबाब पर्ने सम्भावना पनि त्यत्तिकै छ।
राष्ट्र बैंकका अनुसार २०७८ असारमा १ अर्ब २३ करोड रूपैयाँ बचतमा रहेको भुक्तानी सन्तुलन २०७९ वैशाखमा २ खर्ब ८८ अर्ब ५० करोड रूपैयाँ घाटामा पुगेको थियो। २०७९ वैशाखमा ९ अर्ब २८ करोड डलर विदेशी विनिमय सञ्चिति रहेको थियो।
२०७९ असार मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको थियो।

चार महिनाको आर्थिक तथा वित्तीय प्रमुख झलक
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत
आयात १८.१ प्रतिशत, निर्यात ३३.३ प्रतिशत बढ्दा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घट्यो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढ्यो
शोधनान्तर स्थिति२० अर्ब ३ करोड रुपैयाँ बचतमा ।
कुल विदेशी विनिमय सञ्चिति १२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड।
संघीय सरकारको खर्च ३५१ अर्ब र राजस्व परिचालन २६८ अर्ब ७ करोड रुपैया ।
विस्तृत मुद्राप्रदाय १.० प्रतिशत र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत वृद्धि । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत छ ।