काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन्। दक्षिण एसियामा भारतपछि नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको गभर्नर अधिकारीले जानकारी गराए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले चुनौतीका बाबजुद सरकार र केन्द्रीय बैंकले लिएका पछिल्ला नीतिले नेपालको अर्थतन्त्रस्थिर रहेको बताए।
एक वर्षका अवधिमा बाह्य क्षेत्रमा समस्या आए पनि अर्थतन्त्रलाई ‘बाउन्स ब्याक’ गर्न सफल भएको गभर्नर अधिकारीले दाबी गरे। विश्वका विकशित अर्थतन्त्रहरु अझै पनि दबाब रहेको उनले बताए। कोभिड महामारीबाट उठ्न लागेका अर्थतन्त्र रुस र युक्रेन युद्धले झनै समस्यामा पारेको उनले बताए।
कोभिडमा दिएको सेवा सुविधाको असर अहिले पर्दै गएको उनले बताए। कोभिड महामारीबाट अर्थतन्त्रमा राम्रो रिकोभरी भइराख्दा रुस–युक्रेन युद्धले विश्वभरी नै मुद्रास्फिती बढाएको छ।
विकशित अर्थतन्त्रलाई ठूलो मूल्यवृद्धिमा चापमा परेको उनले सुनाए। नेपालमा मूल्यवृद्धि साढे ८ प्रतिशतमा रहेको उनले सुनाए। बाह्य क्षेत्रबाट प्रभावित २.३४ अर्ब डलर विदेशी मुद्रा गुमाएको उनले बताए।
सरकारले केही उपायहरु अपनायो र राष्ट्र बैंकले केही नीतिगत निर्णय लिँदा अहिले शोधानान्तर अवस्था सकरात्मक हुनु पुगेको गभर्नर अधिकारीको भनाइ छ। शोधानान्तर बचतमा १ खर्ब रुपैयाँ सुधार भएको छ।
ब्याजदर वृद्धि र चालू पुँजी कर्जा मार्गदर्शनको विषयमा निजी क्षेत्रबाट विरोध भएको भएको बताउँदै उनले लामो छलफल गरेर चालू पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याएको उनले जिकिर गरे। ऋणीले लिएको कर्जाको सही ठाउँमा सदुपयोग होस् भनेर मार्गदर्शन ल्याएको उनले स्पष्टपारे।
चालू पुँजीमा लिएको ऋण दीर्घकालमा लगाउन नहुने तर्क गभर्नर अधिकारीको छ। बैंकरसँग व्यवहारिक समस्याको बारेमा सुझाव मागेको सुधार गर्न छलफलका लागि केन्द्रीय बैंक खुला भएको उनले स्पष्ट पारे। प्रणाली नियम र अनुशासनभित्र सबैले बस्नु पर्ने र उपाय गलत राज्न खोज्दा समस्या आउने उनको भनाइ छ।
‘ब्याजदर केन्द्रीय बैंकले तोक्नुपर्छ भन्ने हो त्यसमा पनि छलफल गरौं’ उनले भने ‘एक खालको दुष्चक्रमा छौं। रेमिट्यान्स खर्च उपयोगमा गछौं यसैगरी अर्थतन्त्र चल्छ ?’
आयातमा प्रतिवन्ध लगाउँदा सरकारलाई ३० अर्ब रुपैयाँ राजश्व घटेको उनले बताए। ‘वस्तु आयात नरोकेको भए धेरै ब्याज बढ्थ्यो। गाडी बिक्री हुँदैन थियो। रोकेर राम्रो भयो’ उनले भने। उनले गाडीमाथिको प्रतिबन्ध केही समयका लागि मात्र भएको जानकारी गराए।
उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए। बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने जिकिर गरे। 'समस्या समाधानका लागि हामी खुला छौँ,' उनले भने, 'केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ।'