एजेन्सी। पश्चिम सेती र सेती नदी जलविद्युत आयोजना बनाउने तयारीमा रहेको भारतको सरकारी कम्पनी एनएचपिसी लिमिटेडको नाफामा उछाल आएको छ।
चालू आर्थिक वर्ष दोस्रो त्रैमासमा एनएचपिसीको खुद नाफा २१.५६ प्रतिशत बढेर १६ अर्ब ८५ करोड ८१ लाख भारु पुगेको बिहीबार सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
गत वर्ष सोही अवधिमा एनएचपिसीको खुद नाफा १३ अर्ब ८६ करोड ८१ लाख थियो। गत वर्षको तुलनामा चालू वर्ष कम्पनीको नाफा ३ अर्ब रुपैयाँ बढेको छ।
एनएचपिसीको बिजुली बिक्री कूल आम्दानी १८ प्रतिशतले बढेर ३५ अर्ब ३१ करोड २९ लाख भारु पुगेको छ। अघिल्लो वर्ष ३१ अर्ब ६५ करोड ५९ लाख थियो।
एनएचपिसीले नेपालमा ७ सय ५० मेगावाटको पश्चिम सेती आयोजनाको सम्भाव्यता अध्ययन गर्न अनुमति पाएको छ। त्यस्तै ४ सय ५० मेगावाटको सेती नदी आयोजनाको सम्भाव्यता अध्ययनको अनुमति पाउने क्रममा छ।
अध्ययनपछि आयोजनाको क्षमता र लागत यकिन हुनेछ। भारत निर्यात प्रयोजनका लागि एनएचपिसीले दुई आयोजना बनाउन लागेको हो। यी दुई आयोजना बनाउन एनएचपिसीले १ खर्ब ८० अर्ब भारु (२ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने छ।
जलविद्युत विकासमा २ खर्ब ८८ अर्ब रुपैयाँ ल्याउने एनएचपिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले बताइसकेका छन्। कम्पनीले दुई आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न त्यहाँको सरकारी स्वामित्वको पिटिसी इन्डिया लिमिटेडसँग विद्युत खरिद बिक्री गर्न समझदारी (एमओयु) गरेको छ।
एनएचपिसी आर्थिक एवं प्राविधिकरूपमा सबल सरकारी स्वामित्वको कम्पनी हो। यो त्यहाँको ठूलो ऊर्जा उत्पादक पनि हो।
उसले जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ। यस्तै उसका ७ हजार ५ सय ३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन अवस्थामा छन्।
निर्माणाधीन आयोजनासमेत जोड्दा उसको ३५ आयोजना पुग्ने छ। केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६ सय १० मेगावाट पुग्ने छ। एनएचपिसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ।
एनएचपिसीले सिक्किम, अरुणाञ्चल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु तथा कश्मिर, उतराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ।
पछिल्लो समय एनएचपिसी ऊर्जा मिश्रणअन्तर्गत वायु र सोलार प्रविधिबाट ऊर्जा उत्पादनमा लागेको छ।