काठमाडौं। वनमा कुहिएर जाने काठ प्रयोग गरेर बनाइएका वस्तु निकासीबाट मुलुकले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरिरहेको छ।
तराई तथा मध्यपहाडमा भएका खयरबाट कत्था बनाएर गएको वर्षमात्रै उद्योगीले करिब ६ अर्ब रुपैयाँ नेपाल भित्र्याएका छन्।
संसारभरि कत्थाको ठूलो माग छ। अझ नेपालको कत्था गुणस्तरीय भएका कारण अत्यधिक माग हुन थालेको नेपाल कत्था उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए।
‘कत्था सतप्रतिशत निर्यात हुने वस्तु हो। नेपालमा यसको खपत हुँदैन। कत्थाको कच्चापदार्थ पनि सतप्रतिशत नेपाली नै हो,’ घिमिरेले क्यापिटल नेपालसँग भने, ‘खयर काठ कत्थाको मुख्य कच्चापदार्थ हो। यो नेपालमै पाइन्छ। उद्योगले आफ्ना तयारी वस्तु भारत, बंगलादेश र पाकिस्तानमा निर्यात गर्दै आएका छन्।’
उनका अनुसार कत्था कचलाई बिस्किट बनाएर नेपालबाट पठाउने गरिन्छ। उत्पत्तिको प्रमाणपत्र लिएर नेपालबाट निकासी भइहेको छ। कच छाला उद्योगमा बढी प्रयोग हुन्छ। बिस्किट भनेको कत्थाको तयारी वस्तु हो। उच्चस्तरीय औषधी, सौन्दर्य सामग्री र गुट्खा बनाउन प्रयोग हुने संघले जनाएको छ।
घिमिरेका अनुसार नेपालबाट भारत निकासी हुने र उसले पनि एक तह प्रशोधन गरेर अन्य देश निर्यात गरिरहेको छ। ‘सरकारले थोरैमात्र भरथेग गरेको अवस्थामा यसको व्यापार बढाउन सकिन्छ,’ उनले भने।
संघका अनुसार नेपालमा १० कत्था उद्योग सञ्चालनमा छन्। खेर जाने काठ प्रयोग गरी बनाइएको कत्थाबाट सरकारले ठूलो परिमाणमा राजस्व प्राप्त गर्छ। वन नियमअनुसार सबै शुल्क तिरेर प्रशोधन गरी बनाइएको कत्था निर्यातबाट सहजै विदेशी मुद्रा आर्जन हुन्छ।
१० उद्योगमा करिब २ हजार जनाले रोजगारी पाएका छन्। अथाह सम्भावना हुँदाहुँदै यो उद्योग छायामा परेको घिमिरेको बुझाइ छ। उद्योगभित्र खयर काठ आइपुगेको करिब ५६ दिनपछि मात्रै कत्था तयार हुन्छ। उद्योगमा कत्थाको कच्चापदार्थ आइपुग्न करिब ६ महिना लाग्छ। सामुदायिक तथा सरकारी वनका सबै नियम पुर्याएर ल्याउने प्रक्रिया लामो भएको घिमिरे बताउँछन्।
‘ठाडो रुखलाई सबै प्रक्रिया पुर्याएर काट्नुपर्छ। त्यसपछि ताछेर उद्योगमा पुर्याउँदासम्मको समय पाँचदेखि ६ महिना लाग्छ,’ घिमिरेले भने, ‘हेर्दा सामान्य देखिए पनि एकदमै जटिल खालको उद्योग हो।’
उनका अनुसार सरकारले सम्भावनायुक्त उद्योगको जुन तरिकाले संरक्षण गर्नुपर्ने हो, त्यसरी गर्न सकेको छैन। उद्योगलाई कच्चापदार्थको ग्यारेन्टीको व्यवस्था गर्नुपर्ने हो। त्यो सकेको छैन। कुहिएर खेर जाने वस्तु कत्थाको कच्चा पदार्थ हो। वनबाट ल्याउन सकिँदैन। त्यसलाई सजिलो तरिकाले ल्याउने वातावरण सरकारले बनाइदिनुपर्छ ।
‘उद्योगका क्षमताअनुसार कच्चापदार्थ सुनिश्चित गरिदिनुपर्छ। नेपालमा स्रोत अभाव छैन,’ घिमिरेले भने, ‘लाग्ने शुल्क लिएर यस्ताखाले उद्योगलाई प्रवद्र्धन गर्न सकिन्छ।’
नेपालमा २० वर्ष पुराना कत्था उद्योग छन्। एउटा उद्योग खोल्न करिब १ अर्बमाथि लगानी आवश्यक पर्छ। कत्था उद्योग खोल्न करिब नौ बिघाभन्दा बढी जग्गा चाहिन्छ। जग्गाको अकासिँदो मूल्यका कारण लागत बढी पर्छ।
त्यसैगरी कत्था उद्योगलाई ठूलोमात्रामा चालू पुँजी कर्जा आवश्यक पर्छ, किनभने यसको प्रक्रिया लामो छ। ‘वर्किङ क्यापिटल’ आवश्यक भइरहन्छ।
उनका अनुसार उद्योगीले खयरको काँचो काठ प्रतिकिलो १ सय रुपैयाँका दरले खरिद गर्छन्। एउटा उद्योगले २४ घन्टामा १५ टन खपत गर्छन्। यो उद्योग चौबिसै घन्टा चल्छ।