काठमाडौं । सडक कालोपत्र (पिच) गर्न प्रयोग हुने अलकत्रा (बिटुमिन) आयातमा अर्थमन्त्री जनार्दन शर्माले अनौठो कर नीति अंगिकार गरेका छन् । शर्माले चालू आर्थिक वर्षको बजेटमार्फत बिटुमिन आयातमा दुई थरी कर नीति अंगिकार गरेको व्यवसायीहरुले बताएका छन् ।
शर्माले ट्यांकरमा बिटुमिन ल्याउँदा ७.५ र त्यही बिटुमिन ड्रममा ल्याउँदा १५ प्रतिशत लाग्ने व्यवस्था गरेका छन् । यसअघिसम्म विदेशबाट बिटुमिन आयात गर्दा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था थियो ।
अर्थमन्त्री शर्माले ट्यांकर र ड्रममा फरक फरक भन्सार नीति लिएको व्यापारीहरुले बताएका छन् । ‘ड्रममा ल्याउँदा राज्यलाई के घाटा ? र ट्यांकरमा ल्याउँदा राज्यलाई के फाइदा हुन्छ’ एक आयातकर्ता व्यापारीले भने, ‘कुन तर्क लगाएर यस्तो नीति लिएको हो र कसलाई पोस्न यस्तो गरिएको हो ? बुझिएन ।’
सरकारले बिटुमिन आयातको भन्सार घटाउन खोजेको भए सबैलाई समान दर कायम गर्नुपर्ने हो । तर, यहाँ ट्यांकर र ड्रम भनेर छुट्याइएको व्यवसायीले बताएका छन् । अर्थमन्त्री निकटका व्यापारीले ट्यांकरमा बिटुमिन ल्याउने गरेकाले शर्माले ७.५ प्रतिशत भन्सार कायम गरेको आरोप व्यवसायीको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ७ अर्ब ८५ करोड ४१ लाख ८० हजार रुपैयाँ बरारबको १० करोड ८२ लाख ३५ हजार ७ सय २३ केजी बिटुमिन विभिन्न देशबाट आयात भएको छ । बिटुमिनबाट मात्रै सरकारले २ अर्ब २५ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
अर्थमन्त्री शर्माकै कारण राज्यले ठूलो राजस्व गुमाउने अवस्था सिर्जना भइरहेको छ ।
सीमित व्यापारीलाई फाइदा पुग्ने गरी बिटुमिनको कर नीति परिवर्तन गरेपछि व्यवसायीले अर्थमन्त्री शर्माको विरोध गरेका छन् । ‘एउटै वस्तुको भन्सार दुई थरी हुन्छ,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘एकै ठाउँमा आउने बिटुमिन ड्रममा ल्याउँदा १५ प्रतिशत भन्सार लाग्ने, ट्यांकरमा ल्याउँदा ७.५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गर्नु पछाडिको कारण के हो ?’