काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेका दुई कम्पनीले एक वर्षमै ३ अर्ब १९ करोड रुपैयाँको कारोबार गरेका छन् ।
ग्रुपको स्वामित्वमा रहेको ग्लोबल ट्रेडिङ कन्र्सन प्राइभेट लिमिटेडले १ अर्ब ९७ करोेड ३० लाख र एसियन डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेडले १ अर्ब २१ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् ।
एसियनले ९ महिना १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको छ ।
ग्लोबलले विभिन्न प्रकारका विदेशी मदिरा बिक्री गर्दै आएको छ । उसले सन् २०२० मा १ अर्ब ७६ करोड ९० लाख, सन् २०१९ मा २ अर्ब १ करोडको मदिरा व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
ग्लोबलले उच्च तथा मध्यमस्तरका व्यक्तिलाई लक्षित गर्दै स्कटल्यान्डको जनी वाल्कर कम्पनीले उत्पादन गरेको ब्ल्याकलेबल, डबलब्ल्याक, रेडलेबलजस्ता महंगा ह्विस्कीका साथै सिमरअफ कम्पनीको भोडका आयात गरी नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपाल लिमिटेडले केयर एनपी ए थ्री रेटिङ दिएको छ ।
यस्तै विभिन्न फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) को व्यापार गर्दै आएको एसियनले सन् २०२० मा १ अर्ब र २०१९ मा १ अर्ब २१ करोड रुपैयाँको व्यापार गरेको सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । एसियनले ९५ करोड ५४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
विशाल ग्रुपले प्रवद्र्धक गरेको दुवै कम्पनीको ट्रयाक रेकर्ड राम्रो देखिएको छ । ग्रुपले व्यापार, उत्पादन, हस्पिटालिटी, बैंक तथा बिमा क्षेत्रमा लगानी विस्तार गरेको छ । अनिलकुमार अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
कम्पनीले विभिन्न ब्रान्डका ह्विस्की, भोडका, रम, जिन, ब्रान्डी र टकिलाको बिक्री वितरण गर्दै आएको छ ।

यसैगरी कम्पनीले प्रतिष्ठित ब्रान्डको बियर र वाइनको पनि बिक्री गरिरहेको छ । सरकारले मदिरा आयातमा लगाएको प्रतिबन्धले चालू वर्षको ९ महिनामा व्यापार खच्किएको ग्लोबलले जनाएको छ । यसले कम्पनीको वित्तीय अवस्थामा असर गरेको छ ।
सन् १९९८ नोभेम्बर ३० मा स्थापना भएको ग्लोबल ट्रेडिङले विभिन्न मुलुकहरुमा उत्पादन भएको ब्रान्डेड मदिरा र बियर आयात गरी नेपालभर बिक्रीवितरण गर्दै आएको छ ।