काठमाडौं । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार १ डलर बराबर १२८.११ रुपैयाँ बिक्रीदर तोकेको छ ।
डलरको यो मूल्य हालसम्मकै उच्च हो । पछिल्ला महिनामा डलरको ग्राफ उकालो लाग्दै गएको छ । हरेक दिन नेपाली रुपैयाँ कमजोर हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार राष्ट्र बैंकले १ डलर बराबर १२७.७२ रुपैयाँ बिक्रीदर तोकेको थियो ।
डलर बलियो हुँदा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
भारुतीय रुपैयाँ (भारु) कमजोर भएर १ डलरबराबर शुक्रबार ८० पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ ।

रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ ।
भारु कमजोर भएपछि यसको असर नेपालमा पनि पर्ने गरेको छ । डलरको सञ्चिति घट्दै गएपछि भारतले सुन आयातमा भन्सारदर बढाएको छ । भारतमा डलर सञ्चिति घटेर ५ खर्ब ८० अर्ब डलरमा झरेको छ । गएको जनवरीमा भारतको डलर सञ्चिती बढेर ६ खर्ब ४२ अर्ब डलरसम्म पुगेको थियो ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि उदीयमान अर्थतन्त्रबाट लगानी अमेरिकातर्फ गएको छ । उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहनेछ ।
फेडरल रिजर्भ बैंकले ब्याजदर ०.२५ बाट बढाएर ०.७५ देखि १ प्रतिशतसम्म कायम गरेको छ । यस्तै फेडरल रिजर्भ बैंकले मुद्रास्फीतिलाई रोक्न ब्याज दरहरू १०० आधार बिन्दुले बढाउने भएको छ। आधार बिन्दु ०.०१ प्रतिशत अंक हो । सन २०१७ डिसेम्बरमा १ डलरको मूल्य १०२ रुपैयाँ मात्रै थियो ।

अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । कच्चा तेलको भाउ भने ओरालो लागेको छ । अहिले भारत, चीन, अमेरिका र युरोप मूल्य वृद्धिको चपेटामा छन । अमेरिकामा मूल्य वृद्धिदर दुई अंक नजिक पुगेको छ ।
डलरको महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ । घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन ।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ । अहिले नेपालमा पेट्रोलियम पदार्थको भाउ अकासिएर नयाँ रेकर्ड कायम गरेको छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ भने नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ । विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।