काठमाडौं । कुनै समय अर्थ मन्त्रालयको सचिव बन्न अन्य मन्त्रालयका सचिवहरूको दौडधुप हुने गर्दथ्यो । अर्थसचिव बनाइदिन सचिवहरू शक्तिकेन्द्र धाउने कुरा कुनै नौलो थिएन ।
मुख्यसचिवपछि सबैभन्दा आकर्षक सचिवको पद अर्थकै हो । अर्थ मन्त्रालयका सचिव अन्यभन्दा शक्तिशाली मानिन्छन । कारण, अर्थसचिवसँग राज्यको ढुकुटीको चाबी हुन्छ । ढुकुटीको चाबी लिन सचिवहरूको शक्तिकेन्द्रसामु ताँती लाग्थ्यो ।
तर, अहिले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेपछि त्यहाँ भएका सहसचिवहरूसमेत मन्त्रालय गएका छैनन् । कारण हाे- निमित्त सचिवको पगरी पाउने डर ।
अर्थमा पुगेका सहसचिवलाई निमित्त अर्थसचिव बनाइदेलान् कि भन्ने भयले अहिले अर्थका सहसचिवहरू मोबाइल अफ गरेर बेपत्ता बनेका छन् ।
सहसचिवहरू भूपाल बराल र केदारनाथ शर्मा अहिले मन्त्रालय नगई मोबाइल अफ गरेर मोबाइल अफ गरेर बेपत्ता छन् । उनीहरू मन्त्रालय पनि गएका छैनन् ।
यस्तै चक्र बुढा अर्थमन्त्रीका प्रिय सहसचिव हुन् । उनी पनि निमित्त सचिवको जिम्मेवारी लिन इच्छुक देखिएका छैनन् । महेश आचार्य, रमेशकुमार केसी, राजेश्वर ज्ञवाली, बाबुराम सुवेदी, इश्वरीप्रसाद अर्याल, अर्जुनकुमार खड्का, ढुण्डीप्रसाद निरौलालगायतका सहसचिव अर्थमा छन् । तर, उनीहरु कोही पनि निमित्त सचिवको जिम्मेवारी लिन तयार छैनन् ।
अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेपछि निमित्त कसैले पाएका छैनन् । राजस्वसचिव कृष्णहरि पुष्कर भने विदेश छन् ।
मरासिनी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म अर्थ नआउने गरी बिदा बसेपछि अन्य सहसचिवहरुको भागदौड मच्चिएको छ ।
निमित्त सचिवको पगरी तोकिएमा आफू फसिने डरले धेरैजसो सहसचिव बुधबार मन्त्रालय नै गएका छैनन् ।