काठमाडौं । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर, भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।
देशभित्र विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमित रुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिति घटेको देखाइन्छ । तर, राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।
ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम बिदेसिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै ३० करोड ८३ लाख ५१ हजार रूपैयाँ रकम बाहिरिएको छ ।
विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालू आवको जेठ मसान्तसम्म कुल २ लाख ३७ हजार ४ सय २९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ ।
ती सामग्रीको आयात गर्दा सरकारले ११ करोड ३७ लाख ७८ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै १२ करोड ५९ लाख ५३ हजार रूपैयाँ मूल्य बराबरको करिब ४० हजार ७ सय ६३ केजी लिपिस्टिक लगायतका सामग्री आयात भएको छ ।
त्यस्तै चीनबाट १ लाख ९० हजार ६८७ केजी बराबरको सामग्री ११ करोड ६० लाख ४८ हजार रूपैयाँ मूल्यमा आयात भएको छ ।
यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ । चालू आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि २२ करोड ८१ लाख ९७ हजार रूपैयाँ बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले ८ करोड ६४ लाख ६५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै १० करोड ५६ लाख २६ हजार रूपैयाँ मूल्य बराबरको कुल ६ हजार ६२९ केजी परिमाणमा आयात भएको छ ।
त्यस्तै चीनबाट ६ करोड ९९ लाख २७ हजार रूपैयाँमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।
त्यस्तै मेकअपका अर्को सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ९३ करोड ४९ लाख ९६ हजार रूपैयाँका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले ३५ करोड २९ लाख ८० हजार रूपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि २८ करोड ६६ लाख ४२ हजार रूपैयाँ मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै ६४ करोड ८३ लाख ५५ हजार रूपैयाँ मूल्यमा २ लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ ।
विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ । ११ महिनामा नेपालीले ५ करोड ९ लाख २३ हजार रूपैयाँ मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट २ करोड ५८ लाख ४१ हजार रूपैयाँ तथा भारतबाट २ करोड ३९ लाख १८ हजार रूपैयाँ बराबरको नेलपोलिस आयात भएको छ ।
४३ करोडभन्दा बढीको बडीलोसन
विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार रूपैयाँ मूल्यमा ५ लाख ७ हजार ५ सय ८८ केजी लोसन आयात भएको छ । त्यसबाट सरकारले रु १६ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ ।
भारतबाट मात्रै ३१ करोड ४२ लाख ६८ हजार रूपैयाँ मूल्यमा २ लाख ८४ हजार २०२ केजी बराबरको लोसन आयात भएको छ । त्यस्तै थाइल्यण्डबाट ५ करोड ७६ लाख ४५ हजार रूपैयाँ, इन्डोनेसियाबाट २ करोड ६२ लाख ३५ हजार रूपैयाँ मूल्य बराबरका लोसन आयात भएका छन् ।
महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौं खर्च हुने गरेको छ । एघार महिनामा ९८ लाख १५ हजार मूल्य रूपैयाँ बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ । सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ । विभागका अनुसार भारतबाट ९७ लाख ९२ हजार रूपैयाँ बराबरको सिन्दुर आयात भएको छ । त्यस्तै शृङ्गारका अन्य समानको आयातमा रु दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ ।
स्याम्पु आयातमा १ अर्ब बिदेसियो
हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं बिदेसिने गरेको विवरण सार्वजनिक भएको छ । चालू आवको ११ महिनामा १ अर्ब ८ करोड १० लाख ५४ हजार रूपैयाँ बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ । करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो । स्याम्पुको आयातबाट सरकारले भने ४६ करोड ४७ लाख ९० हजार रूपैयाँ राजस्व जम्मा गरेको छ ।
यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार रूपैयाँ बराबरको रकम मुलुक बाहिर गएको छ । एघार महिनाका अवधिमा कुल ७ लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि ६ करोड १७ लाख ६६ हजार रूपैयाँ बराबरको रकम मुलुक बाहिर गएको छ । रासस