काठमाडाैं । स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरूले खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् । महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उनले जानकारी दिए । राप्ती नगरपालिकाका २६१ उम्मेदवारमध्ये १०, कालिका नगरपािलकाका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४ उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । विवरण नबुझाउने उम्मेदवारलाई आयोगले संघीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिए ।
नियमावलीअनुसार महानगर प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार रुपैयाँ, वडाध्यक्ष र सदस्यले ३ लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ । यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, वडाध्यक्ष र सदस्यले २ लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले ३ लाख ५० हजार वडाध्यक्ष र सदस्यले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ ।