काठमाडौं । चालू आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रूपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।
सरकारको दैनिक हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कुल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कुल १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो ।
सरकारको कूल खर्च भने ६७।९४ प्रतिशत बराबर भएको छ । कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रूपैयाँ बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म ११ खर्ब ९ अर्ब ३७ करोड ३२ लाख रूपैयाँबराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।

सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख रूपैयाँ बराबरको चालू खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म ८ खर्ब ६६ अर्ब ९० करोड ६० लाख रूपैयाँ अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ कुल १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रूपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९१ अर्ब ३७ करोड ६८ लाख रूपैयाँ अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ ।
सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ । यो त भयो खर्चको कुरा ।
अब सरकारको आम्दानी पनि हेरौं । कार्यालयका अनुसार असार १५ गतेसम्म कुल ९ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख रूपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य चालू आवका लागि राखेको थियो ।
त्यसमा कर राजस्वतर्फ ८ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख रूपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालू आवका कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रूपैयाँ लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख रूपैयाँ अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रूपैयाँ अर्थात्र ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए । कुल सरकारी खर्चमध्ये चालू खर्च ९ ९ खर्ब ७१ अर्ब ८६ करोड रूपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड रूपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रूपैयाँ अर्थात् ९२।७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो ।
कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रूपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालू आर्थिक वर्षमा २ खर्ब ३१ अर्ब ३० करोड रूपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ । रासस