काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना बिचौलिया रहेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानूनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिका नाममा लाइसेन्स जारी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको आरोप छ ।
तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायकस्तर (पाचौं) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
साथै हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर पनि आयोगले मुद्दा दायर गरेको छ ।
उनीहरु बिचौलिया रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।