काठमाडौं । अमेरिकी डलर महँगिएर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार १ डलरबराबर १२५.१६ रुपैयाँ बिक्रीदर तोकेको छ । डलरको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
रुस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो । डलरसँग भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि परेको छ ।
भारु कमजोर भएर १ डलरबराबर मंगलबार ७८.१४ पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको बजारमा भाउ निर्धारण हुने गरेको छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानी अमेरिकातर्फ गएको छ । फेडरल रिजर्भले ब्याजदर ०.२५ बाट बढाएर ०.७५ देखि १ प्रतिशतसम्म कायम गरेको छ । फेडरलले ब्याजदर बढेपछि भारतलगायत उदयीमान अर्थतन्त्रबाट लगानी अमेरिकामा फिर्ता गएको छ । उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह हुन्जेलसम्म विश्वबजारमा डलर महँगो भइरहनेछ ।

रुस–युक्रेन युद्धको असरले गर्दा अमेरिकाको अर्थतन्त्र मजबुत भएको छ । यस्तै भारत र चीनलगायत अन्य उदीयमान अर्थतन्त्र कमजोर हुँदा पछिल्लो समय डलरसँग भारुको निरन्तर अवमूल्यन हुँदै आएको छ ।
राष्ट्र बैंकका अनुसार २०७६ चैत ४ गते डलरको मूल्य बढेर १२३ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । त्यसपछि पनि डलरको भाउमा उतारचढाव आएको थियो । सन् २०१७ डिसेम्बरमा १ डलरको मूल्य १०२ रुपैयाँ मात्रै थियो ।
डलर मात्र हैन अहिले विश्वबजारमा कच्चा तेल, सुन र खाद्यन्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ लागेको छ । अहिले भारत, चीन, अमेरिका र युरोप मूल्यवृद्धिको चपेटामा परेको छ । अमेरिकामा मूल्यवृद्धिदर ८ प्रतिशतमाथि पुगेको छ । महँगीले विश्वलाई गाँज्ने अनुमान विश्लेषकहरूको छ ।

डलर महँगो हुँदाको फाइदा
डलरको महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यस बेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ । घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन् ।
यस्ता छन् बेफाइदा
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजार भाउ बढ्छ । डलर बलियो भएका कारण आयात गरिने वस्तु महँगो भएको छ । अहिले नेपालमा पेट्रोलियम पदार्थको भाउ अकासिएर नयाँ रेकर्ड कायम गरेको छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महँगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश विदेशमा लैजानेलाई फाइदा हुनेछ । डलरमा बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले बढी दर तिर्नुपर्छ । विदेशीमा अध्ययन गर्न, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।