काठमाडौं । रुस–युक्रेन युद्धका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलरको बिक्री मूल्य बढेर १२४.६८ रुपैयाँभन्दा पुगेको छ । युद्धका कारण अमेरिकी अर्थतन्त्र झनै बलियो हुन पुगेको कारण डलर महँगिएर नयाँ रेकर्ड राखेको हो । ४ महिनायता भारतबाट ४ अर्ब डलर अमेरिकामा गएको छ ।
यस्तै अन्य मुलुकहरूबाट लगानी अमेरिकातिर गइरहेको छ । लगानीकर्ताहरूका लागि लगानीको प्रमुख गन्तव्य अमेरिका नै हो । भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि परेको हो ।
१ डलरबराबर ७७.७८ भारु पुगेको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए रुपैयाँको अवमूल्यन हुने गरेको छ ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि लगानी अमेरिकातर्फ गएको छ । फेडरल रिजर्भले ब्याजदर ०.२५ बाट बढाएर ०.७५ देखि १ प्रतिशतसम्म कायम गरेको छ ।
भारतलगायत उदयीमान अर्थतन्त्रहरुबाट लगानी अमेरिकामा फिर्ता हुन्जेलसम्म विश्व बजारमा डलर महंगो भइरहने नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्टको भनाइ छ । उनका अनुसार अहिले अमेरिकामा मूल्यवृद्धि आकासिएर साढे ८ प्रतिशत पुगिसकेको छ ।
रुस–युक्रेन युद्धको असरले गर्दा भारतीय अर्थतन्त्र कमजोर भएको र पछिल्लो समय डलरसँग भारुको निरन्तर अवमूल्यन हुँदै आएको छ । राष्ट्र बैंकका अनुसार २०७६ चैत ४ गते डलरको मूल्य बढेर १२३ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । त्यसपछि पनि डलरको भाउमा उतारचढाव आएको थियो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको अर्थतन्त्र थप मजबुत हुन गएको छ । यसले डलर झनै बलियो बनाउन सघाउ पुर्याएको छ । डलर मात्र हैन अहिले विश्व बजारमा कच्चा तेल, सुनलगायत अन्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।
डलर महँगो हुँदाको फाइदा
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यस बेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ । घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ ।
कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रले उठ्ने प्रयास गरिरहेको छ । डलर महँगो हुँदा वस्तु निर्यात गर्ने उद्योगी व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउन अवसर पाउनेछन् ।
यी हुन बेफाइदा
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बढी बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि बजार भाउ बढ्छ । डलर बलियो भएका कारण आयात गरिने वस्तु महँगो भएको छ । डलर महँगो भएका कारण पेट्रोलियम पदार्थको भाउ झनै बढ्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महँगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश विदेशमा लैजानेलाई फाइदा हुनेछ । डलरमा बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले बढी दर तिर्नुपर्छ । विदेशीमा अध्ययन गर्न, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पार्ने छ । सन् २०१७ डिसेम्बरमा १ डलरको मूल्य १०२ रुपैयाँ मात्रै थियो ।