सोमबार, असार ९, २०८२

उखुले दिएको आँसु

सर्लाहीका राजेश यादवकी बहिनीको विवाह नजिकिँदै छ । घरमा विवाहको तयारी चलिरहँदा दाजु राजेश भने दुई सातादेखि सर्लाहीमा छैनन् । राजेशको परिवारको आर्थिक अवस्था त्यति बलियो छैन ।
 |  सोमबार, पुस १४, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, पुस १४, २०७६

काठमाडौं– सर्लाहीका राजेश यादवकी बहिनीको विवाह नजिकिँदै छ । घरमा विवाहको तयारी चलिरहँदा दाजु राजेश भने दुई सातादेखि सर्लाहीमा छैनन् । राजेशको परिवारको आर्थिक अवस्था त्यति बलियो छैन ।

वर्षौंदेखि उखु खेती गरेर परिवार चलाउँदै आएको राजेशको परिवारलाई अहिले निकै समस्या परेको छ । ‘बहिनीको विवाहमा धेरै दाइजो दिनुपर्छ, तर मसँग पैसा छैन । दाजु भएर पनि एउटी बहिनीलाई खुसी बनाउन सक्दिन कि जस्तो लागिरहेको छ । दाइजो नदिँदा बहिनीले दुःख पाउँछे होला,’ राजेश भक्कानिन्छन्, ‘बहिनीले दाजु घर चाँडै आउनू भन्दै पटकपटक रुँदै फोन गर्छिन् तर म खाली हात कसरी घर जाऊँ ?’

उखु किसान राजेशलाई आफ्नै पैसा लिन पनि संघर्ष गर्नुपरेको छ । पुर्खादेखि नै राजेशको परिवार धान्ने आम्दानीको स्रोत बनेको उखुले पछिल्ला वर्षहरुमा भने नराम्ररी धक्का दिएको छ । उखु बेचेर पाउनुपर्ने पैसा नपाएपछि उनी धर्नामा बस्नुपरेको छ ।

राजेशले सर्लाहीमा रहेका अन्नपूर्ण सुगर मिल र महालक्ष्मी चिनी मिलसँग २५ लाख रुपैयाँ लिन बाँकी छ । अन्नपूर्णसँग १३ लाख र महालक्ष्मीसँग १२ लाख लिन बाँकी रहेको राजेश बताउँछन् । ०७० सालमा स्थापना भएका यी दुई मिलले सुरुदेखि नै पैसा दिन आलटाल गरेको राजेशले बताए ।

उखु किसान संघर्ष समितिका महासचिव हरिश्याम रायको अवस्था पनि उस्तै छ । उखु किसानहरुसँगै घरबाट १६ दिन अगाडि चार क्विन्टल धान बेचेको ८ हजार रुपैयाँ गोजीमा बोकेर काठमाडौं छिरेका हुन् उनी । राय भन्छन्, ‘काठमाडौं आएको १५ दिन भइसक्यो, धान बेचेर ल्याएको पैसा पनि अब एक हजार रुपैयाँमात्रै बाँकी छ । अब घर फर्कने पैसा पनि छैन । घरबाट फेरि मगाउनुपर्छ ।’

पीडितहरुले उनलाई महासचिव बनाएका हुन् । ‘महासचिव भएपछि यसले केही गर्ला की भन्ने आश अरुलाई पर्दो रहेछ तर म आफैँ पीडित छु । के नै पो गर्नु र ?’ रायले लाचारी व्यक्त गरे । पीडित किसानहरुले पटक पटक जिल्ला प्रशासन कार्यालयमा कुरा उठाए तर पैसा पाएनन् । ‘आन्दोलन गर्दा सम्झौता गरिन्छ तर त्यो सम्झौता लागू हुँदैन,’ राय भन्छन् ।

उखु किसानहरु चिनी मिलसँगै सरकारप्रति पनि आक्रोशित छन् । मिलले उखुको भुक्तानी नदिएपछि किसानहरु न्याय माग्दै काठमाडौं आइपुगेका हुन् । सर्लाहीको अन्नपूर्ण सुगर मिल र महालक्ष्मी चिनी मिलले ६ वर्षदेखि किसानहरुलाई भुक्तानी दिएको छैन । उखुको भुक्तानी नपाएपछि किसानले पटक पटक सर्लाही जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि हाले ।

प्रशासन कार्यालय, चिनी मिल सञ्चालक र किसानहरुबीच पटक पटक भुक्तानीका लागि सम्झौता भए । तर, किसानले भुक्तानी पाएनन् । किसानले स्थानीय स्तरमा आन्दोलन पनि गरे । तर, जिल्लामा भएको आन्दोलनले पार लागेन । उनीहरु काठमाडौं आएर धर्ना बसेको पनि दुई साता भइसक्यो ।

पैसा सकियो, सुत्न समस्या

१५ दिन अगाडि काठमाडौं आएका किसानको गोजीमा भएको पैसा पनि सकिएको छ । उनीहरुको खाने बस्ने टुङ्गो छैन । दिनभरी माइतीघर मण्डलामा ‘उखु किसानको भुक्तानी तुरुन्त गर’ भन्ने प्लाकार्ड छातीमा टाँसेर आफ्नो हकका लागि संघर्ष गर्छन् ।

रात पर्दै जाँदा अर्को संघर्ष सुत्नको हुन्छ । काठमाडौंको चिसोमा कहाँ सुत्ने ? पीर छ किसानहरुलाई । आफन्त हुनेहरु आफन्तकोमा जान्छन् । धेरैजसो भने कवाडी संकलन गर्ने ठाउँमा भुइँमा म्याट्रेस बिछ्याएर एउटा तन्नाको भरमा सुत्न बाध्य छन् ।

मन्त्रीकाे आश्वासनमात्रै

काठमाडौं आएपछि उखु किसानहरु पैसा पाउने आशामा प्रत्येक दिन अन्नपूर्ण सुगर मिलको कार्यालय कुलेश्वर पुग्ने गरेका थिए । तर, कहिल्यै मुख्य व्यक्ति नभेटिने । एक हप्ता धाउँदा पनि केही नलागेपछि कर्मचारीलाई निकालेर कार्यालयमा ताल्चा ठोकिदिए र सिंहदरबारको बाटो रोजे ।

किसानहरु उद्योगमन्त्री लेखराज भट्टलाई भेट्न पटकपटक सिंहदरबार पुगे तर भेट्न पाएनन् । निकै दिनको मेहनतपछि मन्त्रीलाई भेट्न त पाए, तर अहिलेसम्म पैसा पाएका छैनन् । मन्त्रीबाट आश्वासन पाएका किसानको माइतीघरमा धर्ना जारी छ।

मयाशंकर यादव वार्षिक करिब ५ सय क्विन्टल उखु मिललाई बेच्छन् तर पैसा पाउँदैनन् । दुवै मिलबाट उनले २० लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सर्लाहीका किसानले आफ्नै क्षेत्रका मिललाई बेच्नुपर्छ आफूले तयार गरेको उखु । ३ किलोमिटर भन्दा टाढाको मिलमा उखु बेच्न नपाउने सम्झौता उनीहरुले मिलहरुसँग गरेका छन् । यही सम्झौताको फाइदा उठाउँदै सर्लाहीका सुगर मिलले किसानको शोषण गरिरहेका छन् । ‘आम्दानीको स्रोत नै यही हो । घर धितोमा राखेर खेती सुरु गरेँ तर अहिले पैसा नपाउँदा बैंकले घर लिलाम गर्ने भन्दैछ,’ मयाशंकर आँसु मिश्रित पीडा पोख्छन् ।

७१ करोड भुक्तानी बाँकी

सर्लाहीमा रहेका दुईवटा सुगरमिल अन्नपूर्ण र महालक्ष्मीले मात्रै किसानहरुको ७१ करोड रुपैयाँ तिर्न बाँकी छ । दुवै मिल सञ्चालनमा आएदेखि नै किसानले राम्रोसँग भुक्तानी पाएका छैनन् । मिलले सुरुबाटै पाउनुपर्ने भन्दा ९० प्रतिशत कम पैसा दिएका छन् । ५ लाख पाउनुपर्ने किसानले ५० हजारमात्रै पाउने गरेका थिए । ५० करोड अन्नपूर्ण सुगर मिलबाट र २१ करोड महालक्ष्मी सुगर मिलबाट भुक्तानी लिन बाँकी रहेको किसानहरुको दाबी छ ।

मूल्य निर्धारण गरेर के काम ?

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । तर, उखु किसानहरुलाई उखुको मूल्यमात्रै तोकेर पुग्ने अवस्था छैन । उनीहरुलाई वर्षौंदेखिको बक्यौता रहेको आफ्नो उत्पादनको मूल्य चाहिएको छ । सरकारले न्याय देला भनेर उनीहरु भौंतारिरहेका छन् । ‘मिलले पैसा दिएन अब के खाने, के लाउने, छोराछोरी कसरी पढाउने ?’ उनीहरुको सामूहिक पीडा छ ।

माइतीघरमै धर्नामा रहेका बेचन यादवले पनि सुगर मिलसँग १० लाख भ्ुक्तानी लिन बाँकी छ । ऋण लिएर उखु खेती गरेका उनले ब्याज तिर्न पनि पाएका छैनन् । एकातिर मिलले पैसा दिँदैन अर्कोतिर साहुले साँवा र ब्याजको ताकेता गर्छ ।

‘एक बिघामा उखु खेती गर्दा ६० हजारदेखि एक लाखसम्म ऋण लाग्छ । दुई–तीन वर्षमा पैसा पायो भने पनि ऋणको ब्याज बुझाउन सकिँदैन । उखु लगाएको १ वर्षमा बल्ल बेच्न योग्य हुन्छ, अनि कसरी घर धान्ने ?’ बेचन बेचैनी व्यक्त गर्छन् ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले किसानको उखुको मूल्य नतिरेर चिनी मिलका सञ्चालकहरू भागेको बताएका छन्।

तस्बिर : दिनेश श्रेष्ठ

प्रकाशित: Dec 30, 2019| 10:19 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।