काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत भएका अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयका समाचारलाई प्राथमिकतामा पारेका छन्।
नयाँ पत्रिकाले के गर्दै छ छाया सरकार शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ भने कान्तिपुरले तरकारी अचाक्ली महँगो : २० दिनमै बढ्यो २८९ प्रतिशत शिर्षकको समाचारलाई मुख्य विषयवस्तु बनाएको छ। यस्तै नागरिकले पुँजीगत खर्च तीन वर्षयताकै न्यून शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ। अन्नपूर्ण पोस्टले भने जाममै गयो ज्यान शिर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ।
नयाँ पत्रिका के गर्दै छ छाया सरकार शिर्षकमा अगाडि लेख्छ, प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठन गरेको चार महिना बितेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको संयोजकत्वमा गत ६ जेठमा कांग्रेसले छाया सरकार गठन गरेको थियो। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका कामको निगरानी र खबरदारी गर्न छाया सरकार बनाइएको हो। तर, घोषणा गरेअनुसार छाया सरकार सशक्त रुपमा प्रस्तुत हुन सकेको छैन। पार्टी भित्र यस विषयमा प्रश्न उठ्न थालेको छ। जब कि छाया सरकारका मन्त्री भने जिम्मेवारीअनुसार काम गरेको दाबी गर्छन्।
यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा छाया सरकारले कांग्रेसको प्रभावकारीतालाई बढाउन भूमिका खेलेको बताउँछन्। उनी भन्छन्, मन्त्रालयपिच्छे फरक–फरक विधेयक आउँछन्। त्यसका अध्ययन गरेर सकरात्मक कुरा भए सहयोग तथा संविधानविपरीत भए विरोधको आवाज उठाउन छायामन्त्रीहरुलाई जिम्मेवारी दिइएको छ।
यस्तै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण सरकारले गरेका राम्रा तथा नराम्रा प्रावधानप्रति गम्भीर हुन निर्देशन दिएको बताउँछन्। उनी भन्छन्, छाया मन्त्रीहरुले प्रगति विवरण पनि बुझाउँदै हुनुहुन्छ। यद्यपि, त्यसको मिति तोक्न बाँकी छ। संसदका विषयगत समिति, विधेयकको अध्ययन, मन्त्रालय भित्रका नीतिगत कार्यक्रमबारे अनुगमन र निगरानी गर्न भनेका छौं।
कान्तिपुर तरकारीमा भएको अस्वभाविक मूल्यवृद्धिमा लेख्छ, चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म वृद्धि भएको छ। व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको कारण देखाउँदै तरकारीको मूल्य अस्वभाविक रुपमा बढाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४