काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) का वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले आयोजनाको अध्ययन र प्रर्याप्त तयारीबिना बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या आउने औंल्याएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार ‘बजेट तथा योजना तर्जुमा’ विषयमा गरेको अन्तक्रियामा उनले बजेटमा समावेश गरिएका कतिपय लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनका लागि तयारी कस्तो छ त्यसमै भर पर्ने धारणा राखे ।
अर्थशास्त्री खतिवडाले भने, 'बजेटमा समावेश गरिएका धेरैजसो कार्यक्रम लोकप्रिय र सान्दर्भिक देखिन्छन् । तर, त्यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ भन्ने मुख्य प्रश्न हो । बिनाअध्ययन गरिएका कतिपय कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न हुनसक्छ, त्यसैले जुनसुकै कार्यक्रम योजना तर्जुमा गर्दा त्यसको पृष्ठभूमि र भविष्यबारे अध्ययन र समीक्षा गरेर समावेश गरिए मात्रै फलदायी हुन्छ ।'
बजेट योजना कार्यान्वयनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र सफल कार्यान्वयन गर्ने मुलुकको उदाहरण पेस गर्दै उनले प्रर्याप्त अध्ययन र बिनातयारी ल्याइएका परियोजना कार्यान्वयमा चुनौती आउने तथा यसले देशको आर्थिक विकासमा समस्या उत्पन्न हुने खतरा औंल्याए । उनले नेपालको बजेट कार्यक्रम ‘आइडेन्टिफिकेसन, इभ्यालुसन र इम्प्लिटेसन’ जस्ता तीन विषयमा चुकेका कारण नै हरेकजसो बजेट सफल कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
आव २०७९/८० बजेटमा उत्पादन विशेष त्यसमा पनि प्रदेश विशेष उत्पादनलाई प्राथमिकता दिइनु स्वागतयोग्य कुरा हो भन्दै उनले तत्सम्बन्धी योजना कार्यक्रम कार्यान्वयनका आधार के र कसरी हुन्छ भनी प्रश्न गरे ।
खतिवडाले निर्यात प्रवर्द्धनमा आकर्षक कार्यक्रम ल्याउन नसकिएको र निजी क्षेत्र पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नभएकाले नेपालमा हरेक वर्ष आयात बढेर व्यापार घाटा भइरहेको उल्लेख गरे । छिमेकी मुलुकसँग व्यापार घाटा कम गर्ने उपाय खोजेर उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरिएको खण्डमा देशको अर्थतन्त्र सुधार हुने उनको भनाइ छ । उनले नेपालको आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउन कृषि उत्पादन, उत्पादनमूल उद्योगको विस्तार र प्रवर्द्धन तथा सूचना प्रविधि तथा सेवामूलक क्षेत्रलाई सँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
'सेवाक्षेत्र र उद्योगलाई सँगै अघि बढाउन सकिए मात्र नेपालको अर्थतन्त्रले प्रगति हासिल गर्छ, उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिएकै कारण, सिंगापुर, स्विट्जरल्यान्डजस्ता मुलुकले आर्थिक प्रगति गरेका हुन् । नेपालले पनि विकासको प्रक्रियामा ती मुलुकका असल अभ्यासलाई अवलम्बन गरेर अर्थतन्त्रको दायरालाई फराकिलो बनाउने प्रशस्त आधार छन्', उनले भने ।