काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधीनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताएका छन् ।
उनले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखि कर्णालीको जनजातिसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताए ।
‘यो बजेट तपाईंहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उनले भने, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्ने गरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’
आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हाँसिल हुने उनले विश्वास व्यक्त गरे । ‘संसद्मा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उनले भने । उनले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिए ।
कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको विषय राखिएको उनले जानकारी दिए ।
उनले किसानलाइ उत्साहित गर्न, परिचयपत्र बितरण गर्न र कृषि पेसाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उनको दाबी छ ।
आयात प्रतिस्थापन
मुलुकमा कृषि वस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फलफूलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताए । ‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असंभव भन्ने छैन’ उनले भने, ‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौं । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त संभव देखेको छु ।’
जुन सुपारी आयात ग¥यो, त्यहीं सुपारी निर्यात गर्ने बिषय अब इतिहास हुने उनको भनाइ थियो । मुलुकभित्रै उत्पादन भएको बस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकमत स्थान दिएको उनले जानकारी दिए ।
पुँजीबजार सुधारको लक्ष्य
अर्थमन्त्री शर्माले पँुजीबजार सुधारका लागि निक्कै महत्वपूर्ण विषय बजेटमा समावेश गरेको जानकारी दिनुभयो । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका बिषयमा धारणा बनाउन उनले आग्रह गरे।
बजेट वक्तव्यको बुँदा नम्बर ३३२ मा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भनि उल्लेख छ ।
यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्कासनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ,’ उनले भने ।