काठमाडौं । अमेरिकी डलर थप मजबुत बन्दै गएको छ । पछिल्लो १५ दिनमा डलरको मूल्य १२४ रुपैयाँभन्दा माथि पुगेको छ ।
मंगलबार नेपाल राष्ट्र बैंकले १ डलरबराबर १२४.३७ रुपैयाँ बिक्री दर तोकेको छ । वैशाख १५ गतेपछि डलर महँगिएर १२४ रुपैयाँभन्दा माथि पुगेको हो ।
गएको जनवरीमा १ डलर बराबर ११८.७८ रुपैयाँ थियो । त्यसपछि डलरको मूल्य तलमाथि भइरहेको थियो । रुसले युक्रेनमा हमला गरेपछि विश्व बजारमा डलरमाथि पुगेको छ । ६ महिनाको अवधिमा डलरसँग नेपाली रुपैयाँ झण्डै ६ रुपैयाँले कमजोर हुन पुगेको छ ।
भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि परेको हो । १ डलरबराबर ७७.५८ भारु पुगेको छ । भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएको कारण भारु बलियो भए नेपाली रुपैयाँ मजबुत र कमजोर भए रुपैयाँको अवमूल्यन हुने गरेको छ । रुस–युक्रेन युद्धको असरले गर्दा भारतीय अर्थतन्त्र कमजोर भएको र पछिल्लो समय डलरसँग भारुको निरन्तर अवमूल्यन हुँदै आएको छ ।
यस्तै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएका कारण लगानी अमेरिकातिर फिर्ता भएकाले विश्व बजारमा डलर बलियो हुन पुगेको बताइएको छ । अमेरिकामा ब्याजदर बढेर यो वर्षको अन्तिममा २ प्रतिशत माथि पुग्ने अनुमान गरिएको छ ।
अहिले अमेरिकामा समेत मूल्यवृद्धि ६ प्रतिशतमाथि पुगेको छ । भारु कमजोर हुँदा नेपालको अर्थतन्त्रमा समस्या आउनाका साथै जनताको भान्सासम्म महँगी बढाएको छ ।
राष्ट्र बैंकका अनुसार २०७६ चैत ४ गते डलरको मूल्य बढेर १२३ रुपैयाँ २८ पैसासम्म पुगेको थियो । त्यसपछि पनि डलरको भाउमा उतारचढाव आएको थियो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाको अर्थतन्त्र थप मजबुत हुन गएको छ । यसले डलर झनै बलियो बनाउन सघाउ पुर्याएको छ । डलर मात्र हैन अहिले विश्व बजारमा कच्चा तेल, सुनलगायत अन्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ ।
डलर महँगो हुँदाको फाइदा
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । यस बेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन । रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ । घटिरहेको विदेशी मुद्रा सञ्चिती बढाउन यसले सहयोग गर्नेछ । पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ ।
कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रले उठ्ने प्रयास गरिरहेको छ । डलर महँगो हुँदा वस्तु निर्यात गर्ने उद्योगी व्यवसायीलाई फाइदा हुन्छ । विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउन अवसर पाउनेछन् ।
यस्ता छन् बेफाइदा
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । डलर महँगो भएपछि बजार भाउ बढ्छ । डलर बलियो भएका कारण आयात गरिने वस्तु महँगो भएको छ । डलर महँगो भएका कारण पेट्रोलियम पदार्थको भाउ झनै बढ्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । डलर महँगो भएपछि नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश विदेशमा लैजानेलाई फाइदा हुनेछ । डलरमा बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले बढी दर तिर्नुपर्छ । विदेशीमा अध्ययन गर्न, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पार्ने छ ।