काठमाडौं । स्वदेशी उत्पादन वृद्धि, प्रतिस्पर्धी क्षमता विस्तार, निर्यात प्रोत्साहन, आयात निरुत्साहन र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी सरकारले बजेट ल्याएको छ ।
स्वदेशी उत्पादन विदेशी उत्पादनसँग प्रतिस्पर्धी बनाउन र कतिपय अवस्थामा स्वदेशमै उद्योग स्थापना गर्न सक्ने गरी बजेट ल्याएको छ । सरकारले तारजाली, काँटी किला, पाइप उद्योग नेपालमै स्थापना गर्न सक्ने गरी आर्थिक नीति ल्याएको अर्थशास्त्री डा. समीर खतिवडाको बुझाइ छ ।
सरकारले आयातित डन्डीमा प्रतिटन अन्तशुल्क २१ सयबाट ३५ सय रुपैयाँ पुर्याइएको छ । त्यसैगरी स्पञ्ज आइरनको भन्सार शून्यबाट १ प्रतिशत पुर्याइएको छ । बिलेट आयातमा लाग्दै आएको ५ प्रतिशतलाई यथावत् राखिएको छ । स्पञ्ज आइरन ल्याएर बिलेट बनाउनेलाई सरकारी संरक्षण छ ।
भारतबाट निकासी गर्दा कतिपय फलामजन्य वस्तुमा भन्सार १५ प्रतिशत लगाइसकेको थियो । त्यस्ता वस्तुमा नेपाल सरकारले थप भन्सारको व्यवस्था गरेको छ । भने पनि अव त्यस्ता उत्पादनका उद्योग नेपालमै लाग्न सक्ने अवस्था सिर्जना भएको खतिवडाको भनाइ छ ।
ढलान तार आयात गर्दा अन्तःशुल्क २२ सय रुपैयाँ थियो । त्यसलाई बढाएर सरकारले प्रतिटन १० हजार रुपैयाँ पुर्याएपछि नेपालमै ढलान तार उद्योग लाग्ने सम्भावना बढेको उनको भनाइ छ ।
सरकारी उक्त निर्णयले नेपालमै भएका उद्योगले थप क्षमता विस्तार गर्न सक्ने अवस्थामा पुगे भने नयाँ उद्योग पनि लगाउन बाटो खुलेको अर्थशास्त्री खतिवडाको तर्क छ ।
भारतीय सरकारले कच्चा पदार्थमा १५ प्रतिशत ड्युटी लगाइदिएपछि सरकारले अन्तःशुल्क बढाएको हो । भारतले तयारी वस्तुमा भन्सार लगाएको छैन । तर, कच्चा पदार्था मात्रै १५ प्रतिशत ड्युटी लगाएको हो । त्यसैलाई काउन्टर गर्न र स्वदेशी उद्योगलाई बचाउन सरकारले यस्तो नीति लिएको उनको भनाइ छ ।
सरकारले ढलान तार, जीआई तार ल्याउँदा भन्सार ३० प्रतिशत पुर्याएको छ । साफ्टाअन्तर्गत ल्याउँदा १० प्रतिशत लाग्छ । च्यानल गेट तथा पाताहरुमा पनि भन्सार बढाएको छ ।
त्यसका अलवा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी २ करोड रुपैयाँमा झारेको छ । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्ने अर्थशास्त्रीहरु बताउँछन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वैदेशिक लगानी आकर्षित गर्न १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था गर्नु पनि सकारात्मक भएको बताए ।
निजी क्षेत्रको धेरैजसो मागलाई सरकारले सकारात्मक लिनु भनेको निजी क्षेत्रको विकासमा सरकार लागेको देखिएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा उद्योग नै भएको सरकारले महशुस गरेर सोही अनुरुप नीति लिन खोजेको हो ।
उद्योगले बारम्बार जग्गाको हदबन्दी, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई सहुलियत दिएर निर्यातका लागि बाटो खोल्न आग्रह गरिरहेका थिए ।
त्यही भएर सरकारले आगामी आर्थिक वर्षको बजेटमा उच्च निर्यात सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तुहरू र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने भएको छ ।
यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्थाले औद्योगिक विकास गर्न सरकार इच्छुक देखिएको खतिवडाको भनाइ छ ।
उद्योगीले बारम्बार विद्युतमा सहुलियत दिन आग्रह गरेका थिए । त्यही भएर सरकारले मासिक १० करोड रुपैयाँबराबरको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत बिजुलीको महसुलमा छुट दिने निर्णय गर्नु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।
बजेटले निजी क्षेत्रको विकास हुने गरी बजेट ल्याएर पनि आशन्न चुनावलाई लक्षित गरेर बजेट बितरणमुखी र बढी महत्वाकांक्षीसमेत बनाएको अर्थशास्त्रीहरुले टिप्पणी गरेका छन् ।
अर्थशास्त्री खतिवडाले कृषि क्षेत्रमा एक वर्षभित्र आत्मनिर्भर सम्भव नभएको प्रतिक्रिया दिए । ‘आयात घटाउनेतर्फ नीति लिन ठीक छ,’ खतिवडाले भने, ‘तर, एकै वर्षमा कृषिमा आत्मनिर्भर हुन्छु भन्नेतर्फ सरकारले लक्ष्य राख्नु भनेको अति महत्वाकांक्षी हो ।’ तर, निजी क्षेत्रको विकास गर्न खोजेको देखिन्छ । लागत कम हुने वित्तिकै प्रतिस्पर्धी क्षमताको विकास गर्छ ।
सरकारले चुनाव लक्षित कार्यत्रम आएका छन् । वितरणमुखी देखिन्छ । बजेट सुन्दा एकदमै राम्रो सुन्निछ । तर, कति कार्यान्वयन हुन्छ ? कार्यान्वयनको ट्«याक रेकर्ड उत्साजनक नभएको अर्थविद्हरुको भनाइ छ ।
सरकारले आर्थिक वृद्धिको एकदमै महत्वकांक्षी लक्ष्य लिएको छ । सन् २०३० मा उद्योगको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को योगदान २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
कसरी पुर्याउने भन्ने केही छैन ? टार्गेट एकदमै राम्रो हो । हालको ६ बाट २५ कसरी पुर्याउने ? भन्ने अझै प्रष्ट नभएको उनको भनाइ छ । जबकी, एसियाली विकास बैंक (एडीबी) ले आगामी आर्थिक वर्ष ५ प्रतिशत आर्थिक वृद्धि र ६.२ मूल्य वृद्धिको प्रक्षेपण गरेको छ ।