काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको विनियोजन विधेकको प्राथमिकता र सिद्धान्त अर्थमन्त्री कि प्रधानमन्त्रीको भन्दै प्रश्न गरेका छन् ।
“यो कुन कस्तो र कसका लागि सिद्धान्त हो अर्थमन्त्री कि प्रधानमन्त्रीको ?,” उनले प्रश्न गर्दै भने, “कुनै सिद्धान्त र प्राथमिकता नै देखिँदैन । कस्तो सिद्धान्त र प्राथमिकता हो यो ?
उनले वर्तमान सरकार अगाडिबाट तान्ने र पछाडिबाट पनि गाढा तान्दै बसेको अवस्थामा मात्रै रहेको टिप्पणी गरे । उनले विनियोजन विधेयककको सिद्धान्त र प्राथमिकता पनि जहाँको त्यही रहने त्यही गाडाको अवस्थाको जस्तो भएको बताए । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको प्राथमिकता र सिद्धान्तले कुनै अग्रगति नलिने र त्यसमा कुनै ज्यान र प्राण पनि नभएको दाबी गरे ।
“विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा सार्वजनिक शिक्षा, स्वास्थ्यमा केही पनि बोल्दैन तर अर्थमन्त्रीले समाजवादको कुरो गर्नुहुन्छ । अर्थमन्त्रीज्युले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने भन्नुभएको थियो । १० महिनामा ३० प्रतिशत पुग्यो अब २ महिनामा कसरी खर्च हुन्छ ?” उनले भने, “यो सरकारको क्षमता, इच्छाशक्ती राज्य संयन्त्रले पत्याएको छैन । जति समय सरकार रहन्छ, त्यो समयको वर्वादी मात्रै हो ।”
उनले बाह्य क्षेत्रमा परेको प्रभाव, मूल्य वृद्धिजस्ता समस्याको निकास दिने कुरा प्राथमिकता र सिद्धान्तमा नभएको बताए । “बजेट वक्तब्य लेखिसकेको छ । संसदलाई छल्नका लागि कागज प्रस्तुत गर्नुको औचित्य छैन,” उनले भने, “यहाँ छलफल भएको आधारमा नीति तथा कार्यक्रममा वदलाब आउँदैन भने यो छलफल समयको बर्दबादी मात्रै हो ।”
उनले मुलुक टाटा पल्टिने अवस्थामा जान लागेको भन्दै त्यस्तो अवस्था नआओस् भन्दै चेतावनी दिए । “नेपाल श्रीलंकाको अवस्थामा नजाओस्, बैंक क्रप्ट हुने र टाट पल्टिने अवस्थामा नजाओस्, त्यसका लागि नीति सिद्धान्त र प्राथमिकतामा नै उल्लेख भएको देखिएन,” उनले भने ।