काठमाडौं । चौधरी ग्रुपअन्र्तगतको सीजी इम्पेक्स प्रालिको कारोबारमा चमक आएको छ ।
सन् २०२१ मा सीजी इम्पेक्सको सञ्चालन आम्दानी ५३.३९ प्रतिशतले बढेर ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ बढेको छ ।
सन् २०२० मा कम्पनीले ४ अर्ब २० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोरोना महामारीको वर्षमा पनि सीजीको आम्दानी निरन्तर बढ्दै गएको छ ।
यस्तै सन् २०१९ मा ४ अर्ब ४५ करोड १० लाख, २०१८ मा ३ अर्ब ५० करोड र सन् २०१७ मा २ अर्ब ९२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको कम्पनीले जनाएको छ ।
सामान्यतया सञ्चालन आम्दानी कर र कर्मचारीको बोनसबाहेक हो ।

५ वर्षको कारोबार अवस्था हेर्दा कम्पनीको व्यापार विस्तार हुनुका साथै सञ्चालन आम्दानी पनि बढ्दै गएको देखिन्छ । सन् २०२१ मा आम्दानी बढ्नुमा एलजी र सीजी ब्रान्डको माग पुनः बढ्नु मुख्य कारण भएको छ । कम्पनीले आयात गर्ने एलजी ब्रान्डका घरायसी वस्तुको माग राम्रो भएकाले अपरेटिङ मार्जिन १० प्रतिशतसम्म राख्न सफल भएको छ । जुन पछिल्ला वर्षमा बढेर १४.४ प्रतिशतसम्म पुगेको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको कुल आम्दानीमा एलजी ब्रान्डको मात्रै ६८ प्रतिशत योगदान रहेको छ । यस्तै सीजी ब्रान्डको २१ प्रतिशत र बाँकी अन्य वस्तुको रहेको छ ।
कम्पनीका देशभर ६०० वटा डिलरका साथै १९ वटा आफ्नै आउटलेटहरु छन् । कुल बिक्रीको २० प्रतिशत योगदान १० वटा डिलरको छ ।
सरकारले आयातमा कडाइ गरेकाले यो वर्ष कम्पनीको आम्दानीमा असर पर्ने देखिएको छ । आयात बढेर विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले विभिन्न १० वटा वस्तुको आयात बन्द गर्नुका साथै नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मा शतप्रतिशतसम्म मार्जिनको व्यवस्था गरेर आयातलाई निरुत्साहित गरेको छ ।
बजारमा स्थापित र नयाँ ब्रान्डहरुबीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।
कम्पनीले एलजी ब्रान्डका इलेक्ट्रिक र घरायसी सामाग्री आयात गरेर बिक्री वितरण गर्दै आएको छ । यस्तै कम्पनीले ब्ल्याक एन्ड डेकोर र पिजन ब्रान्डका साना घरासयी विद्युतीय सामाग्री आयात गरिरहेको छ ।
सीजी इम्पेक्स पारिवारिक कम्पनी भए पनि ८५ प्रतिशत स्वामित्व निर्वाण चौधरीको छ । बाँकी वरुण चौधरी र डलर अर्बपति विनोद चौधरीको स्वामित्व रहेको कम्पनीले जनाएको छ ।
सीजी इम्पेक्सले ३ अर्ब ९२ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले सीजी इम्पेक्सलाई इक्राएनपी ए थ्री प्लस रेटिङ दिएको छ ।
