काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेपछि त्यसको असर नेपालमा परेको घ्यू तेल उत्पादक संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै नेपालमा तेलको मूल्य बढ्नुमा नेपाली उत्पादनको कुनै संग्लनता नभएको बताएको छ ।
संघमा आबद्ध २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु (सोयाविन, सनफ्लावरलगायत)को मूल्य कृतिम रुपमा नबढाएको बताएका छन् ।
उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात हुँदै आएको छ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालले मूल्य निर्धारण हुने संघले जनाएको छ ।
विगत करिब १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना महामारी गर्दा खाने तेलको मूल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको संघले जनाएको छ । जुन मूल्य हालसम्मको ऐतिहासिक हो ।
संघका अनुसार मार्च २०२० मा ६१४ डलर प्रतिटनमा पाइने सोयाविन तेल १२७९ डलर प्रतिटन पुगेको छ । त्यसैगरी, ६५६ डलरमा पाइने प्रतिटन सनफ्लावर तेलको मूल्य १५८० डलर प्रतिटन पुगेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य मूल्य बढेकाले त्यसको असर परेको उद्योगीहरुले विज्ञप्तिमार्फत जनाएका छन् ।
क्रड सोयविन तेल अप्रिल ८, २०२१ मा ११९० डलरबाट अप्रिल २२, २०२१ मा १२७९ डलर प्रतिटन पुगेको छ । यो दुई हप्तामा प्रतिटन ९० डलर बढेको छ । क्रुड सनफ्लावर तेलको हकमा अप्रिल ८, २०२१ मा १५३० मा पाइने तेल अप्रिल २२ २०२१ मा १५३० डलर पुगेको छ ।
नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह छिमेकी मुलुक भारतको पश्चीम बंगाल राज्यमा पर्दछ । त्यहाँ भएको २ महिना लामो निर्वाचन, निषेधाज्ञा र पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्य वृद्धिको कारण हल्दियादेखि नेपाल भन्सारसम्मको ढुवानी असहज र महंगो हुन गएको छ ।
सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामग्रीमा प्रयोग हुने सामानको मूल्यसमेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ । निषेधाज्ञाको कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करीव ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गरिरहेका छन् ।
खानेतेलमा भन्सार महसुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकाले एक वर्षमा कच्चा पदार्थको मूल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैयाँ प्रति लिटर रहेकोमा हाल सरदर ४० रुपैयाँभन्दा बढी पुगिसकेको छ ।
अन्तर्राष्ट्रि बजारमा भएको वृद्धिका कारण नेपालमा असर परेको र संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना गरी मूल्य वृद्धि नभएको, हालको मुल्यवृद्धि अन्तराष्ट्रिय वजारमा दिनँहु भईरहेको मुल्यवृद्धिको कारणले भएको संघले जनाएको छ ।