काठमाडौं। वैशाख १८ देखि १९ सम्म सञ्चालन गरिएको कोसी प्रदेश लगानी सम्मेलन ४६ परियोजनामा १ खर्ब ५२ अर्बको लगानी प्रतिबद्धतासहित सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ।
४६ परियोजनामा लगानी प्रतिबद्धता जनाएका लगानीकर्ता र कोसी प्रदेश सरकारबीच परियोजना सञ्चालन विषयमा द्विपक्षीय समझदारीपत्रमा शुक्रबार बेलुका हस्ताक्षर भएको कोसी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताएका हुन्।
कोसी प्रदेश लगानी प्राधिकरण र लगानीकर्ताबीचमा लगानी प्रतिबद्धताको समझदारी भएको सम्मेलन समापन कार्यक्रममा जानकारी दिइएको थियो।
लगानी सम्मेलनमा कृषिमा आधारित उद्योग, बेसार प्रशोधन, छुर्पी उत्पादनदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादन, एग्रो टुरिजम, बर्जुताल पर्यटकीय क्षेत्र विकास, कोदोको रक्सी उद्योग, व्यावसायिक कृषि फार्मसम्मका परियोजना क्षेत्रमा लगानी प्रतिबद्धता जनाइएको छ।
लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा पहिलो हस्ताक्षर गरे।
विराटनगरका उद्योगी पवनकुमार सारडाले १ अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले ५ अर्ब ६० करोड रुपियाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड लगानी सम्झौता गरेका छन्।
प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति वायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले ११६ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
टर्मरिक प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड लगानीमा बेसार उत्पादन तथा प्रशोसन परियोजना, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड इलामकी कुसुम दाहालले ८० करोड लगानीको एड्भान्सिङ नेप्लिज टी एन्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे।
सोलुखुम्बु तिलिचो पिक फुड एन्ड ड्रिंक प्रालिका जनक राईले ४० करोड लगानी सम्झौतामा हस्ताक्षर गरे।
नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रुथ फार्मिङ एन्ड एग्रो टुरिजम, धनकुटामा विष्णु अग्रवालले किबी फार्मिङ एण्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इन्डष्ट्रिज एन्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता गरेका छन्।
कोसी प्रदेश सरकारले लगानी सम्मेलनमा ७४ परियोजना सोकेसमा राखेकामा ४६ वटामा लगानी प्रतिबद्धता जुटेको छ।