काठमाडौं । नेपाल आयल निगमले फर्नेक्स आयल आयात गर्न निजी क्षेत्रलाई खुला गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आफैले फर्नेक्स आयल ल्याएर बेच्ने गरेको छ ।
आफूसँगै किन्नुपर्ने गरी निर्णय गरेको निगमले व्यवसायीको विरोधपछि खुला गरेको हो । ‘अब आयल निगमले पनि ल्याएर बेच्ने र निजी क्षेत्रले पनि ल्याउन सक्ने गरी निर्णय गरिएको छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘उनीहरूलाई जोसँग किन्दा सस्तो पर्छ, त्यही किन्न सक्छन् ।’
कमिसनको लोभ गरेर फर्नेक्स आयल आयातमा पनि एकाधिकार जमाउन लागेको व्यवसायीले आरोप लगाएपछि निगमले निजी क्षेत्रलाई पनि फर्नेक्स आयल ल्याउन सक्ने गरी निर्णय गरेको निगमको भनाइ छ ।
निगमले भारतीय आयल कर्पोरेसनभन्दा सस्तोमा नेपालमै फर्नेक्स आयल बेच्ने गरी मूल्य तय गरेको छ । ‘हामीले बेचेको मूल्य सस्तो भए यहीबाट किन्न सक्छ, अथवा उतैबाट पनि ल्याउन सक्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘व्यवसायीलाई जहाँबाट किन्दा सस्तो लाग्छ, त्यही खरिद गर्न सक्छन् ।’
निगमले यसअघिसम्म फर्नेक्स आयलको व्यापार गरेका थिएन । खासगरी निजी क्षेत्रलाई चाहिने फर्नेक्स आयलको व्यापारमा अहिलेसम्म निगम पसेको थिएन । निगम आईओसीको व्यापारिक साझेदार हो । आईओसीले फर्नेक्स आयल पनि बिक्री गर्छ । त्यही भएर निगमले पनि उक्त उत्पादनको व्यापार पनि थालेको निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
निगमले यसअघिसम्म पेट्रोल, ग्यास, डिजेल, मट्टितेल, हवाई इन्धनको मात्रै व्यापार गर्दै आएको थियो । व्यवसाय विस्तारका लागि निगम अब फर्नेक्स आयलमा पनि प्रवेश गरेको हो ।
औद्योगिक प्रयोजनमा प्रयोग हुने फर्नेक्स आयल अहिलेसम्म निजी क्षेत्र आफंैले ल्याइरहेको छ । बीचमा एक पटक निगमले अनुमति दिन रोकेको थियो । तर, अहिले व्यवसायीले आफूलाई चाहेको बेला ल्याउन सक्ने भएका छन् ।