काठमाडौं । अभावलाई अवसरको रुपमा लिएर मास्कको मूल्य बढाउने उद्योगमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन थालेको छ ।
उद्योगीले मास्कको कृत्रिम अभाव गराएर मूल्य बढाइरहेका छन् । पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमण तीब्र गतिमा फैलिएसँगै मास्क व्यापारीले त्यसको नाजायज फाइदा लिएपछि विभागले अनुगमन थालेको हो ।
विभागका प्रवक्ता शिवराज सेढाईंले आफूखुसी मूल्य बढाउने उद्योग माथि अनुगमन सुरु गरिएको बताए । ‘हामीले बुधबारबाटै छानबिन सुरु गरेका छौं,’ प्रवक्ता सेढाईंले भने, ‘मूल्य वृद्धि गरेको पाइए कारबाही गर्छौं ।’ मूल्य बढाएको विषयमा अहिलेसम्म लिखित उजुरी भने विभागमा नपरेको उनको भनाइ छ । तर, आपूmहरुले पनि मूल्य बढाएको जानकारी प्राप्त भएकाले अनुगमनमा टोली खटाइसकिएको जानकारी दिए ।
केही दिन अघिमात्र उद्योगीले प्रतिमास्क २५ देखि ५० पैसासम्म मूल्य वृद्धि गरेका थिए । होलसेल मूल्य बढेसँगै बजारमा मास्कको मूल्यसमेत बढ्न थालेको छ । बजारमा पाइने सामान्य खालको सर्जिकल मास्कको होलसेल मूल्य यसअघि २ रुपैयाँ थियो । तर, संक्रमण दर बढेको र प्रहरीले मास्क अनिवार्य गरेपछि २५ पैसा अर्थात २५ प्रतिशत मूल्य वृद्धि गरेको हो ।
यस्तै मेलवर्ण नामक अर्को सर्जिकल मास्कको मूल्यमा पनि ५० पैसा वृद्धि भएको छ । यसअघि ३ रुपैयाँ ५० पैसा होलसेल मूल्य थियो भने अहिले वृद्धि भएर ४ रुपैयाँ पुगेको छ । होलसेल व्यापारीहरुले अहिले उद्योगबाट बढेको मूल्यमा मास्क खरिद गरी खुद्रा बजारमा बिक्रीका लागि पठाउन थालेका छन् ।
विभागले केही साताअघि पनि मास्कको मूल्य वृद्धि गर्ने केही फर्महरुमा अनुगमन गरेको थियो । त्यो बेला लिखित उजुरीका आधारमा होलसेल व्यापार गर्ने ५ वटा फर्मलाई १०/१० हजारको दरले जरिवानासमेत गरेको उनले बताए ।
अहिले उद्योगले नै मूल्य बढाएको हुँदा खबर आएकाले अब त्यसतर्फ अनुगमन बढाउने उनको भनाइ छ । यदि, दोषी भेटिएमा कानुन अनुसार कारबाही गर्ने बताएका छन् ।