मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न डेढ करोड चुक्ता पुँजी अनिवार्य

ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न डेढ करोड चुक्ता पुँजी अनिवार्य

उपत्यकाबाहिर कम्तीमा तीन वटा शाखा विस्तार गरेपछि मात्रै काठमाडौंमा शाखा खोल्न अनुमति।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। नयाँ निर्देशिकाअनुसार अबदेखि धितोपत्र दलाल व्यवसायीले ब्रोकर शाखा खोल्न प्रतिशाखा १ करोड ५० लाख चुक्ता पुँजी कायम गर्नुपर्नेछ।

नेटवर्थसम्बन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यताप्राप्त चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित भएको हुनुपर्ने बोर्डको नयाँ निर्देशिकामा उल्लेख छ।

ब्रोकरको मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा खोल्न पाइने छैन। सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्नेछ। उपत्यकाबाहिर कम्तीमा तीन वटा शाखा खोलेपछि मात्रै काठमाडौंभित्र शाखा खोल्न पाइनेछ। शाखाका लागि ब्रोकरको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ ।

ब्रोकरले शाखा खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल रूपमा शाखा कार्यालय सञ्चालन गर्नुपर्नेछ। सञ्चालनमा रहेका ५० मध्ये ४९ ब्रोकर कम्पनीको मुख्य कार्यालय काठमाडौंमै छ।

निर्देशिकाअनुसार शाखा सञ्चालन गर्न सक्ने अवस्था नभएमा शाखा कार्यालय बन्द पनि गर्न सकिनेछ। सञ्चालनमा रहेको शाखा कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था आई शाखा बन्द गर्न चाहे सञ्चालक समितिको निर्णयसहित सोको कारण खुलाई तोकिएको ढाँचामा बोर्डसमक्ष निवेदन दिन सकिनेछ।

ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, ब्रोकरमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढंगले शाखा कार्यालय सञ्चालन गर्न  नयाँ निर्देशिका लागू गरिएको बोर्डले जनाएको छ। 

७७ वटै जिल्लामा धितोपत्र दलाल व्यवसाय पुगिसकेको सन्दर्भमा सोहीअनुरूप दोस्रो बजारको पहुँच पनि विकास र विस्तार गर्न आवश्यक देखिएकाले ब्रोकर शाखा खोल्नेसम्बन्धी निर्देशिका ल्याइएको बोर्डको भनाइ छ। बोर्डले २ अर्ब २० करोड मूल्यको सामूहिक लगानी कोषको  बिक्रीका लागि अनुमति दिएको छ। 

कम्पनीलाई प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा २२ करोड इकाइ बिक्रीका लागि अनुमति दिएको हो। अनुमति पाउनेमा सिद्धार्थ क्यापिटल र कुमारी क्यापिटल रहेका छन्।

प्रकाशित: Feb 18, 2023| 17:40 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्