काठमाडौं– नेपालको घरेलु खेलकुदमध्ये स्पट फिक्सिङले धेरै चर्चा पाएको नेपाल टी–२० लिगमा नै हो। नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको टी–२० लिगमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस स्ट्राटेजिक पार्टनर बनेको थियो। प्रतियोगिताअघि उसले नेपालमा क्रिकेट विकास गर्ने र कलुषित मनसाय नराखी नेपाल आएको बताएको थियो।
तर प्रतियोगिताको सुरुबाटै खेलमा फिक्सिङको हल्ला चल्यो। अहिले नेपाल प्रहरीको सिआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यी विषयमा अनुसन्धान गरिरहेको छ। नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी फिक्सिङमा मुछिएकाले उनीहरु अनुसन्धानको दायरामा छन्।
प्रतियोगिताबीचमै क्यानले स्ट्राटेजिक पार्टनर भनेर आयोजनाको सबै जिम्मा दिएको सेभेन थ्रि स्पोर्टस नै गायब भयो। अहिलेसम्म सेभेन थ्रीका साहु जटिन आहलुवालियाको आत्तोपत्तो छैन। सेभेन थ्रिले क्यानसँग तीन करोडभन्दा धेरैको सम्झौता गरिसकेको थियो। तर त्यसको एक तिहाइ मात्र क्यानले पाएको छ।
यता क्लबले खेलाडीलाई तलब नै उपलब्ध गराएन। काठमाडौं टिमको त प्रतियोगिता सुरु हुनु केहि दिनअघि मात्र टिमका मालिक परिवर्तन भएका थिए। फारवेस्ट युनाइटेडको मालिक को हो आजसम्म पनि आयोजकले घोषणा गरेको छैन। यस्ता विभिन्न कारणले लिगमा सम्मिलित अधिकांश टिमका खेलाडीले पारिश्रमिक नै पाएनन्।
‘सबै नराम्रो हुँदा यसका बेस्ट कुरा चाहिँ सूर्य तामाङले राम्रो बलिङ गरे। हामीले राम्रो खेल्यौं। खेल खेल्न पायौं। राम्रो भयो प्रतियोगिता तर अझै राम्रो गर्न सक्ने ठाउँ थियो,’ फाइनलमा २४ रनको हार बेहोरेपछि विराटनगरका कप्तान रोहित पौडेलले भनेका छन्।
उनी अगाडि भन्छन्, ‘खेल भएको राम्रो हो किनभने खेलाडीलाई एक्सपोजर मिल्छ। तर लिगमा विवाद आइरह्यो। त्यो (फिक्सिङ) कसले गर्यो के गर्यो थाहा भएन। प्रतियोगिता भयो। अन्त्य पनि राम्रो भयो। बीचमा चाहिँ पैसाको विवाद (पारिश्रमिक नदिएको) पनि आयो। हामीलाई के के भयो भनेर आधिकारिक रुपमा खबर पनि भएन।’ दीपेन्द्रले आउँदा दिनमा राम्रो हुने आशा व्यक्त गरेका छन्।
कस्तो भयो फाइनल?
खेलमा उपाधिका लागि विराटनगरले १३४ रनको लक्ष्य पाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको थियो। तर लुम्बिनीका बलरले विराटनगरलाई लक्ष्यमा पुग्नै दिएनन्। त्यसैले विराटनगर पूरा २० ओभर खेल्दै आठ विकेट गुमाएर १०९ रनमा समेटियो।
आफू र हुसैन तलत चल्न नसक्दा आज हार बेहोरेको कप्तान रोहित बताउँछन्। उनी भन्छन्, ‘मैले राम्रो सट खेलिनँ र आउट भएँ। हुसेन पनि रनआउट भए। यसले नै हाम्रो टिमले राम्रो स्कोर बनाउन नसकेको हो।’
फाइनल यस्तै हुन्छ भन्ने थियो त? रोहितको जवाफ छ, ‘लुम्बिनीले पावर प्ले एकदमै राम्रो खेल्यो। तर हाम्रो बलिङमा राम्रो कमब्याक भयो र हामीलाई १३३ मा रोक्न सक्यो। पछ्याउन सकिने स्कोर नै थियो।’
पहिलो पारीको पावर प्लेमा लुम्बिनीले एक विकेट गुमाएर ६५ रन बनाइसकेको थियो। खेलपछि दिपेन्द्रले भनेका छन्, ‘पावर प्लेमा चाहिँ राम्रो रन बनाएको थियो। बीचमा रन बनेन र विकेट पनि गयो। अन्त्य पनि राम्रो भएन। यद्यपी आशा थियो कि बलिङमा राम्रो गर्नेछौं। बलिङमा राम्रो गरेपछि जित्यौं।’
तर पावर प्लेमा विराटनगरको प्रदर्शन चाहिँ राम्रो भएन। त्यसैले उसका खेलाडीले ब्याक फुटमा खेल्नुपर्यो। ‘हामीले जित निकाल्न सकेनौं। लक्ष्य थोरै भएको र पछिल्ला खेलहरुमा राम्रो खेलेका कारण हाम्रो जित्ने चान्स थियो। फाइनलमा ब्याटिङ नराम्रो भयो,’ रोहितको भनाइ छ। लक्ष्य थोरै थियो। फाइनल पुग्न चुक्यो विराटनगर।
त्रिवि क्रिकेट मैदानमा यो ३४ औं खेल थतयो। लगातार खेल भइरहेका करण पीच पनि स्लो भइसकेको थियो। त्यसैले कुनै पनि टिममा स्पिनर्स छन् भने विपक्षीलाई फाइदा हुने गर्थ्यो। आज त्यस्तै भयो। ‘१३४ को लक्ष्य हुँदा कन्डिसनलाई दोष दिन त मिल्दैन तर विपक्षी पनि राम्रो थियो नि। तीन वटा लेफ्ट आर्म स्पिनर थियो। तलतको विकेट जानेबित्तिकै टिम दबाबमा आएको हो,’ रोहितले भने।
रोहितलाई लाग्छ– लुम्बिनीको जितको पछि उसको क्लबको व्यवस्थापन पनि हो। भन्छन्, ‘लुम्बिनीको प्रदर्शन राम्रो थियो। उनीहरुको क्लब मालिक, व्यवस्थापक सबै राम्रो थियो। राम्रो देखिएको थियो।’
ठूलो लिगमा कप्तानी गरेर जित्दा एकदमै खुसी लागिरहेको दिपेन्द्रले अनुभव साटेका छन्। ‘बाहिरको खेलाडी पनि उत्तिकै राम्रो थियो। खेलाडीले अनुभव पनि पाइरहेको थियो। राम्रो व्यवस्थापन थियो,’ उनले भने। राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन पनि राम्रो भएन नि? दिपेन्द्रको जवाफ छ, ‘फाइनलमा त विकेट राम्रो भएन। त्यसैले सबै खेलमा १७० माथि रन भएन अनि विकेटका कारण स्पिनर्सले धेरै विकेट लिए। ओभरअलमा ठिकै!’
क्रिकेटमा दर्शक किन घट्दैछन्?
नेपाल टी–२० लिगको फाइनल हेर्न केहि दर्शक आएका थिए। बाँकी खेलमा प्यारापिट खाली देखिन्थ्यो। किन होला त? ‘हामीले पछिल्ला खेलहरुमा धेरै राम्रो गर्न सकेको छैन। त्यसैकारण दर्शक कम कम भइरहेका छन्। राम्रो खेल्दै गयो भने उहाँहरु आउनुहुन्छ, मलाई विश्वास छ,’ रोहितले विश्वस्त हुँदै भने।
रोहित आउँदा दिनमा पनि मैदानमा आएर सहयोग गरिदिन समर्थकलाई आग्रह गर्छन्। यता दिपेन्द्र पनि त्यस्तै बताउँछन्। भन्छन्, ‘यो प्रतियोगितामा क्राउड आएन। नेपाली क्रिकेटले अहिले राम्रो गरिरहेको छैन। अब विस्तारै राम्रो गर्नेछ अनि दर्शकहरु पनि मैदानमा आएर खेल हेर्नुहुनेछ भन्ने लागेको छ।’
अहिलेको समयमा दर्शक मैदान नआउनुले भविष्यमा पनि क्रिकेटले समर्थक नपाउने भन्ने डर फिल नभएको बताए। तर विश्वमा कतिपय देशमा यस्तो पनि भएको छ कि एकपटक कुनै खेलबाट दर्शक हराए पनि उनीहरु फेरि त्यो खेलमा आकर्षित भएका छैनन्। उनीहरु अर्कै खेलमा अभ्यस्त पनि हुने गरेका छन्। तर नेपालमा त्यस्तो नहुने दिपेन्द्रको तर्क छ। उनले भने, ‘हामीले राम्रो खेल्ने बित्तिकै दर्शक फर्किने छन्। आईसीसी विश्वकप लिग २ मा हामीसँग १२ खेल बाँकी रहेको छ। त्यसमा हामीले ९ खेल जित्यौं भने एक दिवसीय मान्यता जोगिने छ। आशा छ धेरै मेहनत गरौं।’
प्रतियोगितामा फार वेस्ट युनाइटेडका हसमुतल्लाह शाहिदी सबैभन्दा धेरै रन बनाउने खेलाडी बने। उनले १० खेलबाट ४०० रन जोडे। त्यस्तै विराटनगरका हुसैन तलतले ३६७ र लुम्बिनीका लाहिरु मिलिन्थाले ३४९ रन बनाए। यो तालिकाको चौथो स्थानमा रहेका रोहितले पनि २४९ रन बनाएका थिए। प्रतियोगितामा धेरै विकेट लिने खेलाडीमा अभिनाश बोहरा रहे। काठमाडौं नाइट्सका अभिनासले १९ विकेट लिए भने विराटनगरका राज नन्ननले, जनकपुरका ललित राजवंशी र विराटनगरकै नन्दन यादवले समान १६–१६ विकेट गिराएका थिए।
प्रतियोगितामा १० विकेट लिएर ३६७ रन बनाएका पाकिस्तानी खेलाडी तलत सबैभन्दा उत्कृष्ट खेलाडी घोषित भएका छन्।