शुक्रबार, जेठ ३, २०८२

मकवानपुरमा एक करोड लगानीमा डेरी उद्योग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगञ्ज- होटेल व्यवसायमा संलग्न यहाँका एक युवा उद्यमीले डेरी उद्योगमा लगानी गरेका छन् । अनमोल स्विट्स र होटेल अनमोलको सफलतापछि युवा उद्यमी निप्पु सर्राफले एक करोड लगानीमा हेटौंडानजिकै डेरी सञ्चालनमा ल्याएका हुन् ।

हेटौंडाबाट चार किमि पूर्वस्थित गढी गाउँपालिका-४ मा ४० कठ्ठामा अनमोल एग्रो एन्ड डेरी उद्योग सञ्चालनमा आएको हो । त्यसमा उन्नत जातका ६० वटा गाई छन् । दुई वर्षमा सात करोड लगानीको योजना छ । डेरीबाट अहिले दैनिक चार सय लिटर दूध उत्पादन भइरहेको छ । हाल आठ कर्मचारी रहेकामा डेरी पूर्ण क्षमतामा सञ्चालन भएपछि ४५ जनाले रोजगारी पाउने उद्योगले जनाएको छ ।

मानव संशाधन व्यवस्थापनमा स्नातकोत्तर ३३ वर्षीय सर्राफ मिठाइ उत्पादनका लागि सधैं दूधको अभाव झेलेपछि डेरी उद्यममा लाग्न प्रेरित भएका हुन् । उनले भने, ‘सरकारले पनि कृषि उद्यमलाई प्रोत्साहन गर्न सहुलियतमा ऋण दिने घोषणा गरेकाले अझै बल मिलेको छ ।’    

अनमोल डेरीमा गाईको दूध दुहन साढे पाँच लाख रुपैयाँ पर्ने उपकरण जडान गरिएको छ । उपकरणले एक पटकमा आठ वटा गाई दुहन सक्छ । आगामी साता अनमोल ब्रान्डमा पहिलो उत्पादन बजारमा ल्याउने तयारी भइरहेको सर्राफले जानकारी दिए । डेरीबाट उत्पादित दूध सर्राफले मिष्ठान्न उत्पादनमा प्रयोगमा ल्याएका छन् ।
 
दुई वर्षमा सात करोड लगानीको योजना । गाईको संख्या दुई सय पुर्‍याइने ।

बढी भएको दूधबाट खुवा बनाएर जगेडा गरिएको छ । सुख्खा खुवा माइनस १८ डिग्री तापक्रममा डेढदेखि दुई महिनासम्म सुरक्षित राख्न सकिन्छ । उनले भने, ‘चाडपर्वका बेला मिष्ठान्नको माग उच्च हुन्छ । यो समयमा सुख्खा खुवा प्रयोगमा ल्याएर मिठाइ बनाउँछौं ।’
 
दुई सय गाई पाल्ने योजनाका साथ शुरु गरिएको डेरीमा दूधको उत्पादन बढाएर दूधजन्य सबै वस्तु उत्पादन गर्ने उनको योजना छ । उत्पादन विविधिकरणका लागि प्यास्चराइजर, चिल्लो छुट्याउने क्रिम सेपरेटर, दूध विश्लेषण गर्ने मिल्क एनलाइजर, चिस्यान उपकरण चिलिङ भ्याट, दूध उमाल्ने उपकरण, दूधको चिल्लोपनमा एकरूपता ल्याउने होमोनाइजर उपकरण ल्याइसकेको उनले बताए । उन्नत जातका गाईको संख्या बढाउन डेरी उद्योगमै ‘ब्रिडिङ’ गरेर हालसम्म ६ वटा बाच्छी तयार पारिएको छ ।

मनोकामना डाँडामा अवस्थित चार सयभन्दा बढी घरधुरीमा स्थानीय किसानले उत्पादन गर्ने दूधसमेत खरिद गरेर डेरी गाउँ नै बनाउने योजना उनको छ । उनले भने, ‘अहिलेजस्तो दूधले उचित बजार नपाउने अवस्था हट्यो भने घर–घरमा लघु डेरी खुल्नेछ ।’

वीरगञ्जमा स्नातक तहको अध्ययन गर्दागर्दै हेटौंडामा शाकाहारी रेस्टुराँको सम्भाव्यता पहिल्याएर एक दशकअघि अनमोल रेस्टुराँ खोलेका उनले हालसम्म व्यावसायिक यात्रामा पछाडि फर्किनुपरेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।