शनिबार, जेठ ४, २०८२

सबै परीक्षा स्थगित गर्न चौतर्फी दबाब, त्रिवि र लोकसेवाले तत्काल नरोक्ने

‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षा रोकिँदैनन्। पूर्वनिर्धारित परीक्षा गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निर्णय गर्छौं।’
 |  सोमबार, साउन २५, २०७८

विपिन पोखरेल

विपिन पोखरेल

सोमबार, साउन २५, २०७८

काठमाडौं– कोभिड–१९ संक्रमण  बढे पनि विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षा जारी छन्। सामाजिक सञ्जालबाट चर्को विरोध भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरिसकेको छ। सरकारले भने परीक्षा स्थगित गर्ने वा जारी राख्ने भन्ने निर्णय लिइसकेको छैन। जोखिम बढ्दै गएकाले सरोकारवालाले सम्पूर्ण परीक्षा स्थगित गर्न दबाब दिइरहेका छन्। 

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संख्या कम भएका परीक्षा मात्र बाँकी रहेकाले भदौ ५ गतेसम्मका परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै जारी राख्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षा रोकिँदैनन्। पूर्वनिर्धारित परीक्षा गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निर्णय गर्छौं।’

त्रिविलाई परीक्षा स्थगित गर्न चौतर्फी दबाब आए पनि विद्यार्थीको शैक्षिक वर्ष गुम्न सक्ने भएकाले सञ्चालनमा रहेका परीक्षा स्थगित गर्न नसकिने उनको भनाइ छ। त्रिविमा धेरै संकायका परीक्षा दैनिक तीन सिफ्टमा सञ्चालन भइरहेका छन्। स्नातकोत्तर तह पहिलो वर्षमा साढे दुई लाख र स्नातकोत्तर तहको सेमेस्टरमा २० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेको जोशीले बताए।

लोकसेवा आयोगले पनि प्रशासकीय अधिकृत पदको परीक्षा शनिबार सञ्चालन गरेको थियो। अन्य परीक्षा पनि सञ्चालनका क्रममा रहेको लोकसेवा आयोगले जनाएको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीले पूर्वनिर्धारित परीक्षा सञ्चालन भइरहेको र तत्काल नरोकिने बताए। उनले भने, ‘निर्धारित कुनै पनि परीक्षा स्थगित गर्ने विषयमा छलफल भएको छैन। सरकारले निर्णय गरेमा मात्र स्थगित हुनेछ।’

लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले पूर्वनिर्धारित परीक्षा सञ्चालन भइरहेको र तत्काल नरोकिने बताए। उनले भने, ‘निर्धारित कुनै पनि परीक्षा स्थगित गर्ने विषयमा छलफल भएको छैन। सरकारले निर्णय गरेमा मात्र स्थगित हुनेछ।’

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी भौतिक रुपमा परीक्षा सञ्चालन नगर्न र अनलाइन माध्यमबाट परीक्षा सञ्चालन माग गर्दै आन्दोलनरत छन्। विश्वविद्यालयले यसअघि तोकेको परीक्षा तालिकाअनुसार परीक्षा सञ्चालन गर्ने परिस्थिति नभएको भन्दै विश्वविद्यालयले परीक्षा मिति सार्दैै लगेको छ।

विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले अनलाइन माध्यमबाट परीक्षा लिँदा विद्यार्थीले घुसपैठ गर्ने र नतिजा प्रभावित हुने भएकाले विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै परीक्षा भौतिक रूपमा सञ्चालन गर्ने बताएका छन्।  उनले भने, ‘परीक्षा भौतिक रुपमा सञ्चालन हुन्छ। अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सकिँदैन।’

पोखरा विश्वविद्यालयले रोकिएका परीक्षा भौतिक रूपमा भदौ १ गतेदेखि सञ्चालन गर्ने जनाएको छ। पूर्वाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशन कार्यलाई तीव्रता दिएको छ भने कुनै पनि परीक्षाका कार्यक्रम तत्काल सञ्चालन नगर्ने जनाएको छ।

सबै परीक्षाबारे निर्णय गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने र त्यसले परीक्षाबारे मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी शिक्षा मन्त्रालयले दिएको भए पनि अहिलेसम्म निर्णय भएको छैन। परीक्षार्थीले भने सरकारले परीक्षा स्थगित हुने वा सञ्चालन हुने निर्णय तत्काल गर्न आग्रह गरेका छन्।

अनेरास्ववियु नेता आरसी रेग्मीले विश्वविद्यालयले पूर्वतयारी नगरी वैकल्पिक हिसाबले परीक्षा सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘विश्वविद्यालयका पदाधिकारीले समयमै ध्यान नदिँदा यस्तो समस्या भएको हो। स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्नुपर्ने हो। परीक्षा भनेर शुल्क उठाउने अनि परीक्षा नगर्ने वा स्थगित गरेर विद्यार्थीलाई दुःख दिन पाइँदैन।’

‘विश्वविद्यालयका पदाधिकारीले समयमै ध्यान नदिँदा यस्तो समस्या भएको हो। स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्नुपर्ने हो। परीक्षा भनेर शुल्क उठाउने अनि परीक्षा नगर्ने वा स्थगित गरेर विद्यार्थीलाई दुःख दिन पाइँदैन।’
सामाजिक सञ्जालमा भने सम्पूर्ण परीक्षा रोक्न दबाब दिने क्रम बढेको छ। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षा रोक्न सामाजिक सञ्जालमा #CancelTUexams भनेर अभियान सञ्चालन गरेका छन्।  ट्विटर प्रयोगकर्ताले परीक्षा स्थगित गराउनुपर्छ भनेर ट्विट गरिरहेका छन्। यो अभियानमा साथ दिनेमा नेतादेखि समाजका प्रबुद्ध व्यक्तित्व छन्। ‘परीक्षा रोकौं, विकल्प खोजौं’, ‘परीक्षा केन्द्रको भीड कोरोना महामारीको तेस्रो लहरको माध्यम नबनोस्’ भन्दै सरोकारवालाले सामाजिक सञ्जालमा लेखिरहेका छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भए पनि त्योभन्दा बढी जरुरी जीवनरक्षा रहेकाले संवेदनशील बन्न भन्दै ट्विटरमा लेखेका छन्, #CancelTUExams बारे आन्तरिक संवाद गर्दैछौं। विद्यार्थीको जीवन जोगाउन, सम्बन्धित निकायलाई घच्घच्याउनु हाम्रो जिम्मेवारी हो।’

कांग्रेस नेता एवम् पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गर्ने अनि अन्य विश्वविद्यालय र आयोगका परीक्षा सञ्चालन गर्नुको कुनै तर्क नभएको अभिव्यक्ति दिएका छन्।  उनले प्रधानमन्त्री देउवालाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, ‘कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन! यसको आधार र तर्क के हो?यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ? कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनुपर्‍यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्‍यो।’

‘डेल्टा भेरिएन्ट’ को संक्रमण दर उच्च र अलि घातकसमेत हुन सक्ने जनस्वास्थ्य विज्ञहरुको राय आइरहेका सन्दर्भमा भौतिक उपस्थितिको परीक्षा स्थगित गरियोस् वा वैकल्पिक उपाय अपनाइयोस्। मानसिक तनावका बीच परीक्षा लिनु मानवीय हिसाबले पनि जायज होइन।

पूर्वाधार विज्ञ सूर्यराज आचार्यले ट्विट गर्दै लेखेका छन्, ‘डेल्टा भेरिएन्ट’ को संक्रमण दर उच्च र अलि घातकसमेत हुन सक्ने जनस्वास्थ्य विज्ञहरुको राय आइरहेका सन्दर्भमा भौतिक उपस्थितिको परीक्षा स्थगित गरियोस् वा वैकल्पिक उपाय अपनाइयोस्। मानसिक तनावका बीच परीक्षा लिनु मानवीय हिसाबले पनि जायज होइन। #CancelTUExams

सरुवा रोग विशेषज्ञहरूले पनि तत्कालका लागि परीक्षा सञ्चालन गर्दा थप स्वास्थ्य जोखिम हुने भएकाले संवेदनशील बन्न आग्रह गरेका छन्। सरुवा रोग विशेषज्ञ प्रा. डा. जीवन शेरचनले भौतिक रुपमा उपस्थिति गराएर परीक्षा लिनु जोखिम मोल्नु मात्र रहेको बताए। उनले भने, ‘सानासाना बच्चा जसले केही बुझेका हुँदैनन् उनीहरूलाई अनलाइनबाट परीक्षा लिने तर बुझेका विद्यार्थीलाई जोखिम मोलेर भौतिक रूपमा परीक्षा लिन खोज्नु गलत हो।’ 

शेरचनले भने, ‘एक जनालाई मात्र संक्रमण रहेछ भने पनि भयावह बन्न सक्छ। विद्यार्थीले दुरी कायम गर्दैनन्। परीक्षा हलबाटै महामारी झन् विकराल बन्न सक्छ।’ 

परीक्षाका विषयमा विश्वविद्यालयको परीक्षासँगै लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा पनि स्थगित गर्न सरोकारवालाले माग गरिरहेका छन्। कुनै परीक्षा स्थगित गर्ने र कुनै सञ्चालन गर्नुको कुनै तुक नभएको बुझाइ उनीहरुको छ।

सरकारले काभिड– १९ विरुद्धको खोप शिक्षक–विद्यार्थी सबैलाई लगाइनसकेको र जोखिम उच्च रहेकाले अहिले परीक्षाका कार्यक्रम स्थगित गर्न जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन्। सअघि सरोकारवालाले #CancelNEBexams भनेर सामाजिक सञ्जालमा अभियान चलेपछि बोर्ड परीक्षा रोक्न बाध्य भएको थियो।


प्रकाशित: Aug 09, 2021| 15:42 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्