सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यू-२० साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोट हुने लक्ष्यमा नेपाली फुटबल टिम

यू-२० साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोट हुने लक्ष्यमा नेपाली फुटबल टिम

नेपालभरका सात सय खेलाडीमध्ये ३० जना खेलाडीले प्रशिक्षण गरिरहेकोमा उनीहरूबाट राम्रो नतिजा निस्कनेमा प्रशिक्षक केसी विश्वस्त छन्।
 |  बिहीबार, असार ३०, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, असार ३०, २०७९

काठमाडौं- कोभिड तथा अन्य कारणले विगत केही वर्षदेखि सुनसान रहेको उमेर-समूहको फुटबलले फेरि गति लिन थालेको छ। कहिले एन्फा कम्प्लेक्स त कहिले त्रिपुरेश्वरको दशरथ रंगशालामा देशैभरिबाट सात सय जनाबाट छनोट भएका ३० जना यू-२० का खेलाडी अहिले फुटबल अभ्यासमा व्यस्त छन्। 

टिमलाई नेतृत्व गरिरहेका छन्, अनुभवी खेल प्रशिक्षक मेघराज केसीले। उनलाई सहयोग गरिरहेका छन् बालगोपाल साहुखल र उज्जवल मानन्धरले। 

चाँडै नेपाली यू-२० टोलीले छोटो समयमै दुई ठूला प्रतियोगिता खेल्दै छ। यू-२० साफ च्याम्पियनसिप यही महिना भारतमा हुँदै छ। त्यसपछि बहराइनमा एएफसी यू-२० एसियन कप छनोट हुनेछ। यी दुई प्रतियोगिताका लागि नेपाली यू-२० टिमले अभ्यासलाई तीव्रता दिइरहेको छ। अहिले प्रशिक्षणमा रहेका ३० जना खेलाडीबाट नै अन्तिम टोलीको घोषणा गरिनेछ।

टिमप्रति प्रशिक्षक विश्वस्त

संसारमा कोभिडका कारणले धेरै खेल स्थगित भएको र नेपालमा पनि उमेर समूहका खेल हुन पाएनन्। त्यसैले विगतमा नेपालमा पनि उमेर समूहको खेल नहुनुको कारण प्रतिकूल परिस्थिति रहेको प्रशिक्षक मेघराज केसीले बताए। उनले भने, 'कोभिडको कारणले गर्दा यसअघिका वर्षमा नेपालमा यू-१८, यू-१६ उमेर समूहको खेल हुन सकेनन्। निरन्तर रूपमा यस्ता उमेर समूहका खेल हुन नसकेका कारण अहिले यसरी खुला छनोटबाट खेलाडी छनोट गर्न लागिएको हो।'

प्रशिक्षक मेघराज केसी

यस्तो गर्नु बाध्यात्मक अवस्था रहेको उनी बताउँछन्। खुला खेलाडी छनोट गरे पनि धेरै राम्रो टिम पाएको उनको भनाइ छ। खुला रूपमा छनोट गर्दा कस्ता खेलाडी टिममा आउलान् र टिम कस्तो होला भन्ने कूतुहल थियो तर अहिले धेरै राम्रो टिम बनाएको उनले दाबी गरे।

'मलाई यो टिमप्रति धेरै विश्वास छ। खुला खेलाडी छनोटले गर्दा आज केही राम्रा कुरा पनि भएका छन्। जस्तै, आफ्नै घरेलु क्षेत्रमा मात्रै फुटबल खेल्दै आएका खेलाडीले प्रशिक्षण लिन पाएका छन्। जसले गर्दा उनीहरूले राम्रो मिहिनेत गरे राष्ट्रिय टिममा पनि ढोका खुल्ला छ भन्ने सन्देश दिनेछ,' उनले भने।

 सक्षम टिम

कोभिड हुनुअघि नेपालमा यू-१६, १८, १९ उमेर समूहका खेलाडी छनोट गरेर विभिन्न प्रतियोगितामा सहभागी गराइन्थ्यो। तर, यस पटक त्यस्तो हुन सकेन। 

'हामीले एक डेढ महिनाको अवधिमा देशैभरिबाट सात सय जना खेलाडीमध्ये १० दिन लगाएर ४० जनालाई छनोट गर्‍यौं। त्यहाँबाट पनि छनोट गरेर अहिले ३० जना खेलाडी प्रशिक्षणमा छन्। टिममा केही यस्ता खेलाडी पनि छन्, जसले पहिलो पटक रंगशालामा पाइला राख्दै छन्। तर, उनीहरू आफ्नो टिमलाई प्रतिनिधित्व गर्दै उच्च प्रदर्शन गर्नेमा निर्धक्क छन्,' केसीले भने। 

प्रशिक्षणमा नेपाली फुटबल टिम
समग्रमा टिम राम्रो भएको उनको बुझाइ छ। सबै खेलाडीलाई लिएर उत्साहित पनि छन् उनी। खेलाडीहरूको मिहिनेतप्रति पनि केसी सन्तुष्ट रहेको बताउँछन्। 

उनले भने, ʻमेरा लागि यो अवसर र चुनौती दुवै रहेको छ। मैले टिममा मिहिनेत गर्नुपर्छ र राम्रो नतिजा ल्याउन सक्नुपर्छ। कुनै पनि प्रशिक्षकका लागि सोही स्तरको राष्ट्रिय टिम पाउनु ठूलो कुरा हो। टिम पाएर मात्रै हुँदैन, आफूलाई प्रमाणित गर्न पनि सक्नुपर्छ। त्यसैले आफ्नो कामलाई गाह्रो मान्दिनँ। यो बेला सबै नेपाली फुटबल फ्यानलाई खुसी बनाउन आवश्यक छ। लामो समयको अन्तरालमा नेपाली फुटबल स्तर घटेको छैन भनेर प्रमाणित गर्नुछ।ʼ

केसीको नजरमा घलान उत्कृष्ट

आयुस घलानप्रति प्रशिक्षक केसी आशावादी रहेका छन्। 'आयुषले छोटो समयमा नेपाली राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका छन्। उनी नेपाली फुटबलका लागि रोल मोडल हुन्। अहिलेसम्म आफूलाई प्रमाणित पनि गरेका छन्। सबै खेलाडीले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आशमा छौं,' केसीले भने।

नेपाली टिमको प्रदर्शन उच्च रहने ग्यारेन्टी उनले दिए। 

साफ जित्नेमा विश्वस्त आयुष

सानै उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका आयुष पछिल्लो समय निरन्तर रुपमा राष्ट्रिय टिममा सक्रिय छन्। यू-२० को प्रशिक्षणमा व्यस्त रहेका घलान भन्छन्, 'यो एउटा सुरुआत हो। प्रशिक्षक र सिनियर खेलाडीबाट धेरै कुरा सिक्न बाँकी छ। यसअघिको वर्ष पहिलो पटक नेपालको 'ए' डिभिजन क्लबबाट खेल्दा पनि धेरै कुरा सिक्न पाएँ। साथै, नेपालको खेलकुद संस्कृतिलाई पनि बुझ्ने मौका पाएँ।'

आयुस घलान

समय थौरै भएका कारणले दिनमा दुई पटक अभ्यास गरिरहेको उनले बताए। उनले आफूहरूको मुख्य ध्यान साफ उपाधि जित्नु रहेको सुनाए।

'म साफ जित्छौं भन्नेमा विश्वस्त छु। त्यसपछि बहराइनमा हुने छनोट खेलबाट छानिने हाम्रो दोस्रो योजना हो। टिममा सबै उमेर समूहका खेलाडी भएकोले राम्रो कम्बिनेसन देखिएको छ,' उनले भने।

प्रकाशित: Jul 14, 2022| 11:46 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।