काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्यांग्राको अग्रिम बुकिङ खुला गरेको छ। कम्पनीले सात वटा सर्त राखेर दसैंका लागि मंगलबार (१७ भदौ)देखि खसीबोका र च्यांग्राको बुकिङ खुला गरेको हो।
ग्राहकले अनलाइनमार्फत आफूलाई आवश्यक पर्ने खसीबोका र च्यांग्रा बुकिङ गरेर असोज १४ गतेसम्म लिन सक्ने कम्पनीले जनाएको छ। अग्रिम बुकिङका लागि खसीका कम्पनीको सर्तअनुसार रकम बुझाउनुपर्ने छ। अग्रिम शूल्क इसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्ने छ।
यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ। बुकिङ गर्दा प्राप्त कोडका आधारमा खसीबोका र च्यांग्रा खरिद गर्न पाइने उल्लेख छ। यो वर्ष कम्पनीले एक हजार ८०० खसीबोका र च्यांग्रा बिक्री गर्ने कम्पनीले लक्ष्य राखेको छ। यसमध्ये खसीबोका एक हजार ५०० र च्यांग्रा ३०० रहेको कम्पनीले जनाएको छ।
यस्ता छन् सर्त
१. अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ्ग मान्य हुनेछ। बुकिङ्गको कोड नम्बर/खसी, बोका तथा च्याङ्ग्रा संकलनको समयमा अनिवार्य रुपमा देखाउनुपर्ने छ। ग्राहकले एक पटक बस्तु बुझिसकेपछि पुनः पुरानै कोड नम्बर लिई आएमा कम्पनीले बस्तु उपलब्ध गराउन बाध्य हुने छैन।
२. कम्पनीले उपभोक्ताको माग बमोजिम बस्तु उपलब्ध गराउन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा अग्रिम भुक्तानीवापतको रकम फिर्ता हुने छैन।
३. उपभोक्ता कम्पनीको बिक्री केन्द्रमा आई बस्तु छनौट गरेपश्चात पर्न आउने कूल मोलमा अग्रिक भुक्तनीबापतको रकम घटाई बाँकी रकम भुक्तानी गर्नुपर्ने छ।
४. बस्तुको मूल्य कम्पनीले निर्धारण गरेको प्रति के.जी दर अनुसार हुनेछ। तौलमा सानोतिनो भिन्नता हुन सक्छ। अन्तिम रकम वास्तविक तौलअनुसार निर्धारण हुनेछ।
५. तोकिएको मितिमा यस कम्पनीको बागमती प्रादेशिक कार्यालय, थापाथली प्राङ्गणबाट मात्र खसी, बोका तथा च्याङ्ग्राहरू प्राप्त गर्न सकिनेछ। आफूले बुकिङ्ग गरेको बस्तु समयमै लिन नआईपछि दाबी गर्न आएमा अग्रिम भुक्तानी बापतको रकम फिर्ता गरिने छैन।
६. कम्पनीले उपलब्ध गराउने खसी बोका तथा च्याङ्ग्राहरू स्वास्थ्यदायी र मापदण्डअनुरूपका हुनेछन्। विशेष जात वा रंगको सुनिश्चितता गर्न सकिने छैन।
७. यी शर्तहरू नेपालका प्रचलित कानुन अनुसार लागू हुने छन्। विवाद भएमा प्रचलित कानुनबमोजिम हुनेछ।