काठमाडौं। बाढीपहिरोका कारण अवरुद्ध आठ वटा सडक सरकारले तत्काल खुलाउने भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाएर तत्काल आउजाउ सहज बनाउन निर्देशन दिएका हुन्।
आज सहरी विकास मन्त्रालयमा बसेको बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्ने गरी काम गर्न निर्देशन दिए।
बैठकमा गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो।
हाल पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा गोसाइकुण्ड गाउँपालिका २ टिमुरे, अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–२ कोदारी र घट्टेखोला, बेनिजोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ।
त्यस्तै, घोराही थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरि करिडोरअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्गअन्तर्गत शुभकालीन गाउँपालिका र भेरी करिडोरअन्तर्गत आठबिसकोट नगरपालिकामा सडक अवरुद्ध छ।
त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धी पूर्वसतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकामा अबदेखि भ्वाइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।