झापा। नेपाल चिया उत्पादक संघ र श्रमिकका ट्रेड युनियनबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौं पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि संगठनबीच मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सहमति भएको बताए।
नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको सहमतिमा संघका तर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गरेका थिए।
त्यसैगरी श्रमिक संगठनका तर्फबाट नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन्।
नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम ५६५ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम १५ हजार ६९९ पाउने भएका छन्।
हरेक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्ने पुरानो सहमतिअनुरुप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन्।
यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ ५०० र मासिक पारिश्रमिकतर्फ १३ हजार ८९३ पाउँदै आएका थिए। सहमतिअनुसार दैनिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा ३९ र महँगी भत्तामा २६ रुपैयाँले वृद्धि भएको छ।
मासिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा एक हजार १६२ र महँगी भत्तामा ६४४ वृद्धि भएको छ।
रोजगारदाता र श्रमिकका ट्रेड युनियनबीचको सहमतिलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गरेर पठाइने नेपाल चिया कफी श्रमिक युनियन अध्यक्ष राईले जानकारी दिए।
समितिले सहमतिका आधारमा निर्णय गरी सरकारको राजपत्रमा प्रकाशित गर्ने उनले बताए। दुवै पक्षबीच २०८२ साउन १ देखि नै पारिश्रमिक वृद्धि लागू हुने सहमति भएको छ।
पारिश्रमिक वृद्धिका लागि मजदुरको ट्रेड युनियनले साउन १८ देखि आन्दोलन सुरु गरेपछि नेपाल चिया उत्पादक संघसँग वार्ता थालिएको थियो। सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुंगिएको छ।
झापा नेपालमै सबैभन्दा बढी चिया बगान रहेको जिल्ला हो। बगानमा नियमित र मौसमी गरी दुई प्रकारका मजदुर रहँदै आएका छन्। नियमित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आगामी असोज मसान्तसम्म समेट्न कार्यरत मजदुरको लगत संकलन गरिनेसमेत सहमति भएको छ।–रासस