काठमाडौं। अमेरिकाले भारतमा उत्पादन हुने वस्तु निर्यातमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि व्यवसायीहरु वैकल्पिक मार्गको खोजीमा लागेका छन्। अमेरिकाले १० प्रतिशत भन्सार शुल्कबाट एकैपटक बढाएर ५० प्रतिशत पुर्याएपछि निर्यातजन्य वस्तुमा लगानी गर्दै आएका व्यवसायीहरुले वैकल्पिक ठाउँमा लगानीको लागि सोधखोज बढाएका हुन्।
अमेरिकाले भारतलाई ५० प्रतिशत भन्सार शुल्क लगाए पनि नेपालमा भने १० प्रतिशत मात्र छ। जसको कारण भारतीय लगानीकर्ताहरुको आँखा नेपालमा पर्न थालेको छ। एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालले भारतीय लगानीकर्ताहरुले नेपालमा लगानी गर्न सोधखोज सुरु गरिरहेको जानकारी दिए।
‘छिमेकी मुलुक भएकोले पनि भारतबाट कच्चा पदार्थ ल्याएर नेपालमा उद्योग सञ्चालन गर्न सक्ने वातावरण कस्तो छ र यहाँबाट निर्यातको सम्भावना कस्तो हुन्छ भन्ने लगायतका विषयमा अहिले सोधखोज धेरै भइरहेको छ,’ अध्यक्ष अग्रवालले भने, ‘नेपालमा लगानीकर्ताको आवश्यकता परेकाे बेला भारतीय लगानीकर्तालाई सरकारले सहज रुपमा आउन सक्ने वातावरण सिर्जना गरिदिनुपर्छ।’
अमेरिकाले भन्सार शुल्क बढाएपछि भारतीय लगानीकर्ताहरु नेपालमा आउन तयार रहेको अवस्थामा सरकारले उनीहरुका लागि आवश्यक वातावरण सिर्जना गर्न सके अर्बौ रुपैयाँ लगानी भित्रिन सक्ने सुनौलो अवसर अहिले आएको उनकाे भनाइ छ।
भारतबाट भन्दा नेपालबाट निर्यात गर्दा भन्सार शुल्क कम लाग्ने भएपछि भारतीय लगानीकर्ताहरुको आकर्षण यहाँ पर्न थालेको छ।
‘प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग मन्त्रीसहित सरकारी निकायहरुले रेडकार्पेट विच्छाएर उनीहरुलाई स्वागत गर्न सक्नुपर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘यस्तो अवसर सधैँ आउँदैन, अहिले आएको छ।’
भारतबाट भन्दा नेपालबाट निर्यात गर्दा भन्सार शुल्क कम लाग्ने भएपछि भारतीय लगानीकर्ताहरुको आकर्षण यहाँ पर्न थालेको छ। भारतीय लगानीकर्ताहरुले नेपालमा वैदेशीक लगानी लैजाने कानुनी व्यवस्थाहरु कस्तो छ र नाफा लैजान पाउने नियमहरु के छ भन्ने विषयमा त्यहाँका कानुन व्यवसायीमार्फत नेपालका कानुन व्यवसायीहरुसँग सोधखोज गर्ने क्रम धेरै बढेको कानुन व्यवसायी सन्तोष तिवारीले जानकारी दिए।
भारतमा रहेका लगानीकर्ताहरु खासगरी गार्मेन्ट लगायतका क्षेत्रमा लगानी गरिरहेकाहरुले नेपालमा चासो देखाइरहेको जानकारी आफुहरुलाई आएको र नेपालको विद्यमान वैदेशिक लगानी सम्बन्धीका कानुनहरुको बारेमा जानकारी दिँदै आएको उनको भनाइ छ। अमेरिकाले भारतीय वस्तुहरूमा लगाएको ५० प्रतिशतसम्मको भन्सार शुल्कले भारतको ८७ अर्ब डलर बराबरको निर्यातलाई प्रत्यक्ष असर गरेको छ।
विशेषगरी, कपडा र पोशाक उद्योग, हस्तशिल्प, गहना र कृषिजन्य उत्पादनहरू (चिया, कफी, अदुवा र अलैँची) का लागि यो सुनौलो मौका भएको विज्ञहरुको भनाइ छ।