काठमाडाैं। यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा १५ हजारको संख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ। मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो संख्यामा भेडाच्यांग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो।
यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर संख्यामा भेडाच्यांग्रा मुस्ताङबाट निकासी हुने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा लालमणि अर्यालले उल्लेख गरे।
गतवर्ष मुस्ताङमा पालन गरिएका आठ हजारको सङ्ख्यामा दसैँ लक्षित भेडाच्यांग्रा बेँसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ। उनका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्याङ्ग्रा बाहिरिएको थियो। गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कूल १२ हजार बढी च्याङ्ग्रा निकासी भएको उनको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांकअनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्याङ्ग्रा र बाख्राको संख्या रहेको छ। यहाँको पाँच पालिकामा च्याङ्ग्रा ५६ हजार ४०५, भेडा पाँच हजार चार सय २६ र बाख्रा दुई हजार पाँच सय ७७ वटा रहेको कार्यालय प्रमुख डा अर्यालले बताए।
यहाँको लोमान्थाङ गाउँपालिकामा च्याङ्ग्रा १४ हजार ३९८ र भेडा एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्याङ्ग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्याङ्ग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८, घरपझोङ गाउँपालिकामा च्याङ्ग्रा चार हजार ४२, भेडा चार सय ३३, बाख्रा एक हजार उक सय ९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार तीन सय ८३ वटा रहेको जनाइएको छ।
मुस्ताङमा सबै भन्दाबढी च्याङ्ग्रापालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको सङ्ख्यामा भेडाच्याङ्ग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो। यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्याङ्ग्रा दसैँ तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा अर्यालले बताए।
उनले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको संख्या मा सिनाल प्रजातीका बाख्रा र अन्य जातका बाख्रापालन भइरहेको बताए। यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्याङ्ग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट पाँच हजार बढी च्याङ्ग्रा आउने प्रारम्भिक अनुमान गरिएको छ।