काठमाडाैं। नेपालको एक प्रमुख भुक्तानी प्रणाली सञ्चालक फोनपेले अलिपे प्लससँगको ऐतिहासिक साझेदारीमा आफ्नो क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी सेवा सुरु गरेको छ। यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको छ।
काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, अलिपे प्लस प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था, टुर अपरेटर, गाइड, सञ्चारकर्मी र व्यवसायी समुदायका प्रतिनिधिहरू उपस्थिति थिए।
उक्त साझेदारीसँगै अब चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटालीलगायत ११ भन्दा बढी देशका पर्यटकले नेपालमा सहजै क्यूआर भुक्तानी गर्न सक्नेछन्। उनीहरूले आफूलाई परिचित ई–वालेट अलिपे, काकाओपे,जीक्यास, ट्रुमनीलगायत प्रयोग गरी भुक्तानी गर्न पाउनेछन्।
यो सेवा अहिले नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्यूआर-सक्षम व्यापारीहरूसँग उपलब्ध छ। यसले पर्यटकहरूलाई नगद बोक्ने वा पैसा साट्न हिँड्ने झन्झटबाट मुक्ति दिँदै सुरक्षित र सुविधाजनक अनुभव प्रदान गर्नेछ।
कार्यक्रममा बोल्दै एन्ट इन्टरनेशनलका एडवर्ड युएले यस साझेदारीलाई 'ऐतिहासिक क्षण' भन्दै यसले नेपालको डिजिटल पूर्वाधारलाई थप बलियो बनाउने बताए। त्यस्तै, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यसले विश्वव्यापी वित्तीय पहुँच र समावेशनको दिशामा ठूलो कदम चालेको बताए। उनले भने, "यसले अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र नभई, हाम्रो व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउनेछ।"