काठमाडौं– उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ मा उखु बेचेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालयले यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ निकासा गरेको हो।
निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारले स्रोत अभाव भएको भन्दै किसानलाई दिने भनेर विनियोजन गरेको रकम पनि घटाइदिएको हो ।
यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौँ केन्द्रित आन्दोलन गर्दे आएका छन्।यस अघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यति नै रकम उपलब्ध गराउन मन्त्री परिषद्मा प्रस्ताव लगेको भए पनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।
-1756108148.jpeg)
यसैबिच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बिच सिहंदरबार स्थित मन्त्रालयमा वार्ता भएको छ।वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
त्यस्तै उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन्। यस अघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएकाे छ।
गत आव कुल २ करोड १६ लाख क्विन्टल उखु क्रसिङ भएको सरकारी तथ्यांक छ। प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हिसाब गर्दा किसानले पाउने कुल रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा भएको हो। यो रकम बिहीबारसम्म किसानको खातामा पुगिसक्ने कृषि मन्त्रालयले जनाएको छ। किसानले भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले १ अर्ब ५१ करोड २० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने माग गरिरहेका छन्।