काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको जनाएको छ।
ब्ंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशको तराईका भू–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती मधेस, कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बागमतीमा जल सतह बढेपछि सतर्कता अपनाउन आग्रह
अविरल वर्षाका कारण काठमाडौंको बागमती नदी गौरीघाट जमामापन केन्द्रमा जलसह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नदी बढ्दो क्रममा रहेको र सतर्कता तहसमेत पार गरेकाले आवश्यक सावधानी अपनाउन जरुरी छ।
विभागले सूचनामार्फत नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेले बिहानसम्म आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।