काठमाडौं। अमेरिकी डलर खर्बपति एलन मस्कको स्पेस एक्सको ‘फाल्कन ९’ नामक रकेटले बिहीबार राति अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स ३७बी’ बोकेर आकाशतर्फ उडान भरेको छ।
‘एक्स ३७बी’ एक मानवरहित, पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यान हो। जुन अमेरिकी अन्तरिक्ष सेनाको स्वामित्वमा छ। विभिन्न गोप्य परीक्षण तथा प्रविधि विकासका उद्देश्यका लागि प्रयोग गरिन्छ।
यसले पृथ्वीको कक्षामा रहँदै नवीनतम प्रविधिको परीक्षण गर्छ। यसको विशेषता भनेको लामो समयसम्म कक्षामा रहन सक्ने क्षमता र स्वतन्त्र रूपमा पृथ्वीमा फर्कन सक्ने संरचना हो।
स्पेस एक्सको प्रत्यक्ष प्रसारणअनुसार उक्त रकेट सफलतापूर्वक राति ११ः५० बजे (शुक्रबार बिहान ३ः५० जीएमटी) प्रक्षेपण गरिएको हो। अमेरिकी अन्तरिक्ष सेनाले उक्त यानको अभियानमा ‘विविध परीक्षण तथा प्रयोगात्मक उद्देश्यहरू’ रहने बताएको छ।
‘यी परीक्षण र प्रयोगहरूमा अहिलेसम्म अन्तरिक्षमा परीक्षण गरिएको सबैभन्दा सक्षम क्वान्टम जडत्व संवेदक (इनर्शियल सेन्सर) समावेश छन्,’ सेनाले गत महिनाको विज्ञप्तिमा उल्लेख गरेको थियो।
सानो यात्रुवाहक बसजत्रो आकारको एक्स ३७बी यान सन् २०११ मा सेवा निवृत्त गरिएका मानवरहित अन्तरिक्ष यानहरूको सानो स्वरूप जस्तो देखिन्छ। अघिल्ला अभियानमा यस यानले अमेरिकी अन्तरिक्ष संस्था नासाका लागि विभिन्न परीक्षण सम्पन्न गरिसकेको छ।
सन् २०१० देखि सञ्चालनमा रहेको यो यानलाई अमेरिकी वायु सेनाका लागि बोइङ कम्पनीले युनाइटेड लञ्च एलायन्समार्फत निर्माण गरेको हो। यो यान ३० फिट (९ मिटर) लामो, १५ फिट चौडाइ भएको पंखसहितको र सौर्य ऊर्जा प्रणालीबाट सञ्चालन हुने यान हो।