काठमाडौं। फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ। गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका हुन्।
मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन्। सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा हालसम्मकै बढी फरार अभियुक्त पक्राउ परेका छन्।
गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ फरार अभियुक्त पक्राउ पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट कुल १४ हजार ७६४ फरार अभियुक्त प्रहरीले पक्राउ गरेको थियो। आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा फरार अभियुक्त पक्राउ परेको ६५.०८ प्रतिशतले बढी हो।
त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ११ हजार ९०२ फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृहमन्त्रालय तथा मातहतका निकाय सक्रिय रहँदा परिणाम राम्रो आएको उनले बताए।
गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/८२) मा उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ फरार अभियुक्त पक्राउ गरेको तथ्यांक छ। त्यसैगरी, कोशी प्रदेश प्रहरीले तीन हजार ४८९, मधेस प्रदेश प्रहरीले पाँच हजार ७१२, बाग्मती प्रदेश प्रहरीले एक हजार ७०३, गण्डकी प्रदेश प्रहरीले एक हजार ४९१, लुम्बिनी प्रदेश प्रहरीले तीन हजार ९९६, कर्णाली प्रदेश प्रहरीले ५५६, सुदूरपश्चिम प्रदेश प्रहरीले ९२८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ फरार अभियुक्त पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए।
गत आर्थिक वर्षमा एक अर्ब, ५० करोडभन्दा बढी जरिवाना रकम समेत असुल उपर गरिएको छ। त्यसैगरी, जिल्लास्तरको फैसला कार्यान्वयनको विवरण अनुसार काठमाडौं प्रहरी परिसर अग्रस्थानमा छ।