काठमाडौं। अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुई वटा सम्झौतामा हस्ताक्षर भएको छ।
एमसिसीको स्थानीय निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए-नेपाल)ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत यी कम्पनीसँग ठेक्का सम्झौता गरेको हो।
रातमाटे-नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक-स्किपर संयुक्त उपक्रमसँग सम्झौता गरिएको छ। नयाँ दमौली-नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा-सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ।
यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिने जनाइएको छ। यसको कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर अर्थात २१ अर्ब ६३ करोड नेपाली रुपैयाँ हुन आउँछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, एमसिसीका कार्यवाहक उपाध्यक्ष र नेपालस्थित अमेरिकी दूतावासका अधिकारी सहभागी भएका थिए।
एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले यी सम्झौताले नेपालको विकास लक्ष्यमा अमेरिकाको निरन्तर सहयोगलाई पुष्टि गरेको बताएका थिए।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले नेपाल सरकारको प्रसारण लाइन निर्माण योजनालाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिँए।
नेपालस्थित अमेरिकी दूतावासका नियोग उप प्रमुख जेसन मिक्सले सम्झौता अमेरिकाको नेपालप्रतिको स्थायी प्रतिबद्धताको प्रतीक भएको बताए।
एमसिए-पालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले कम्प्याक्टलाई अगाडि बढाउन अमेरिका सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गरे।
एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण बनाउने उद्देश्यका साथ ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानी हो। यसले विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरेर नेपालको आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ।