चितवन। मेरो किसान लिमिटेडले चितवनको भरतपुर महानगर २२ पटिहानीमा करिब ४० करोड रुपैयाँ लागतमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्ड स्टोर निर्माण सुरु गरेको छ। कम्पनीले सोमबार शिलान्यास गर्दै आगामी पुस १५ गतेभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर अविनाश सिलवालका अनुसार उद्योगमा तोरीको तेल, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैँची, कोदो, फापर, मह, कफीलगायत २५ भन्दा बढी कृषि उपजको प्रशोधन गरिने छ।
कच्चा पदार्थ चितवनका किसानसहित देशका स्थानीय उत्पादकबाट संकलन गरिने र प्रशोधित वस्तु देशव्यापी वितरणसँगै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना रहेको उनको भनाइ थियो।
अत्याधुनिक कोल्ड स्टोरमार्फत तरकारी तथा फलफूल दीर्घकालसम्म संरक्षण गरी काठमाडौं, पोखरालगायत ठूला शहर र विदेशमा आपूर्ति गर्ने सुविधा पनि रहने छ।
कोभिड १९ महामारीको समयमा स्थापना भएको मेरो किसान लिमिटेडले छोटो अवधिमा मोबाइल एपमार्फत ४० हजारभन्दा बढी उपभोक्ता र तीन सयभन्दा बढी व्यवसायिक घरानासँग प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित गरेको छ।
साथै, देशभरका पाँच सयभन्दा बढी व्यवसायिक कृषकसँग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सम्पूर्ण चक्रमा सक्रिय रहँदै आएको छ।
बिउदेखि बजारसम्मको प्रतिबद्धतासहित कम्पनीले यस परियोजनामार्फत किसानको आम्दानी वृद्धि, कृषि उत्पादनको मूल्य अभिवृद्धि, खाद्य सुरक्षा मजबुत बनाउन र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने लक्ष्य राखेको छ।