काठमाडौं। गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा युवा पुस्ताका ग्राहकको ध्यान महँगा बाइकमा केन्द्रित भएको देखिएको छ। पछिल्ला केही वर्षयता महँगा, पावरफुल र स्टाइलिस बाइकमा युवा आकर्षण बढ्दै गइरहेका बेला नाइमा एक्स्पोमा पनि यसले निरन्तरता पाएको हो।
सामान्यतया नेपाली बजारमा १५० देखि २५० सीसीका बाइक लोकप्रिय छन्। पछिल्लो समय महँगा बाइकमा युवाको आकर्षण बढ्दै जाँदा नाइमा मोबिलिटी एक्स्पोमा पनि आकर्षण देखिएको हो।
एक्स्पोमा २ लाखदेखि साढे १३ लाखसम्मका बाइक प्रदर्शनीमा राखिएको छ। केही कम्पनीले नयाँ ब्रान्डका प्रिमियम बाइक ल्याएका छन् भने केही पुरानै ब्रान्डले अपडेट भर्सन सार्वजनिक गरेका छन्। पछिल्लो समय युवा पुस्ताले पर्फर्मेन्स, सुरक्षा र नयाँ प्रविधिका बाइक खोजिरहेको व्यवसायी बताउँछन्।
धेरै युवाका लागि बाइक केवल यात्राको साधन मात्र नभई फेसनको प्रतीक र व्यक्तिगत पहिचान बनेको छ। उनीहरू आफ्नो जीवनशैली सुहाउँदो र भीडमा अरुभन्दा फरक देखिने बाइकमा लगानी गर्न हिच्किचाउँदैनन्।
अहिले बैंक तथा वित्तीय संस्थाले पनि बाइक किन्न सजिलो किस्ता सुविधा उपलब्ध गराउन थालेकाले युवाका लागि महँगा बाइक खरिद सहज भएको छ। धेरै कम्पनीले नागरिताको भरमा बाइक खरिद स्किम ल्याएका छन्।
नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिएका महँगा बाइक ५० प्रतिशत डाउन पेमेन्ट गरेरै मासिक किस्ता बन्दीमा खरिद गर्न सकिन्छ। ५० प्रतिशत रकम तिर्दा १२–१३ लाख रुपैयाँ पर्ने बाइक ६–७ लाखमा खरिद गर्न सकिन्छ।
बजारमा उपलब्ध गाडी नै खरिद गर्न सकिने आकर्षक र स्टाइलिस मोटरसाइकल चढ्नेको संख्या बढेसँगै बिक्रेताले महँगो मूल्यका बाइक आयातसमेत बढाउन थालेका छन्। यसलाई ध्यानमा राख्दै नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीहरुले पनि महँगा र उच्च क्षमताका बाइक प्रदर्शनीमा राखेका छन्।
एक्स्पोमा युवामाझ लोकप्रिय बनेका मुख्य ब्रान्डमा रोयल इनफिल्ड, ट्रायम्फ, केटीएम डुक, सीएफमोटोलगायतले आफ्ना विभिन्न मोडलका बाइक राखेका छन्। ती ब्रान्डका स्टलमा युवा पुस्ताको भीडभाड देखिन्छ।
नेपाली बजारमा प्रवेश गरेका केही नयाँ प्रिमियम ब्रान्डको स्टलमा पनि अवलोकनकर्ताले भरिभराउ भएका देखिन्छन्। ती मोटरसाइकलको मूल्य ५ लाखदेखि १५ लाख रुपैयाँसम्म छ। नाइमा मोबिलिटी एक्स्पोमा देखिएको यो आकर्षणले भविष्यमा नेपालमा ठूला सीसीका बाइकको बजार झनै विस्तार हुने सम्भावना देखाएको छ।
नाइमा एक्स्पोमा युवा आकर्षण देखिएका प्रिमियम बाइक
सीएफमोटो

सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा दुई मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ। सीएफमोटोको नेकेड सिरिजअन्तर्गतको ३०० एनके तथा प्रिमियम स्पोट्र्स सिरिजअन्तर्गत ४५० एसआरएस मोडल सार्वजनिक गरिएको हो।
यी दुई मोडलमध्ये ३०० एनकेको मूल्य ६ लाख ५४ हजार ९ सय र ४५० एसआरएसको मूल्य १३ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
३०० एनके सिरिजकै उत्कृष्ट बाइकको रुपमा रहने कम्पनीको भनाइ छ। यसमा २९२ सीसीको सिंगल सिलिन्डर इन्जिन, अधिकतम क्षमता २१.४ किलोवाट र २५.३ एनएम टर्क, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच, १२.५ लिटरको इन्धन ट्यांकी, अगाडि इन्भर्टेड शक एब्जब्र्सन तथा पछाडि मिड–माउन्टेड शक एब्जब्र्सन दिइएको छ।
त्यसैगरी ४५० एसआरएसमा ४४९.५ सीसी, ट्विन सिलिन्डर, इनलाइन, लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी जडान गरिएको छ। यसमा ३८ किलोवाटको पावर र ४० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ। युरो फाइभ प्लस मापदण्डमा आधारित सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी छ भने स्लिपर क्लच, ६–स्पिड, ५ इनच टीएफटी डिस्प्ले र टीसीएस तथा एबीएसलगायतका विशेषता रहेका छन्।
केटीएम

नेपालका लागि केटिएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२५ भर्सनका ६ नयाँ मोडल सार्वजनिक गरेको छ। गोल्छा ग्रुपले बिक्री गर्दै आएका केटीएमको प्रिमियम मोटरसाइकल हल नम्बर डीमा देख्न पाइन्छ। केटिएमको २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर र ३९० इन्ड्युरो आरको नयाँ मोडलका मोटरसाइकल प्रदर्शनीमा राखिएको छ।
केटीएमको ३९० सीसी डबल पर्पस मोटरसाइकल एन्ड्यूरो आरको मूल्य कम्पनीले नेपाली बजारमा ९ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ। अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील र ब्लक प्याटर्न अफरोड बेस टायर यसमा पाउन सकिन्छ।
त्यस्तै, ३९० ड्युकको मूल्य ९ लाख ४९ हजार ९ सय, २५० एडभेन्चरको ७ लाख ४९ हजार ९ सय, ३९० एडभेन्चरको १० लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ।
मोर्बिडेली
नेपालमा हाल बेनेलीका बाइक बिक्री गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले नयाँ ब्रान्ड मोर्बिडेली भित्र्याएको छ। कम्पनीले टी३५२ एक्स र टी२५२ एक्स एक्स्पोमा प्रदर्शनीमा राखेको छ। कम्पनीले यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ७५ हजार र ९ लाख ९७ हजार रुपैयाँ तोकेको छ।
उच्च प्रदर्शन र साहसिक क्षमतायुक्त टी३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भूभागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ। यसमा ३४९.२ सीसी ट्वीन–सिलिन्डर, ८–भल्व इन्जिन रहेको छ, जसले ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पिड गियरबक्स, बोस डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७–इन्च टीएफटी डिस्प्ले छ, जुन मोर्बिडेली कनेक्ट एपसँग एकीकृत छ।
मोर्बिडेली टी२५२एक्स स्टाइल, सहजता र किफायती मूल्यका साथ उपलब्ध छ। टी२५२एक्स विशेषगरी युवा र प्रारम्भिक स्तरका राइडरलाई लक्षित गरी डिजाइन गरिएको छ। यसले सहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल अनुभव दिन्छ।
बाइकमा २४९ सीसी ट्वीन–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन छ, जसले ३३.५ एचपी पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ। यसका साथै १७ इन्च अलोय ह्विल, यूएसबी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।
ट्रायम्फ

नेपालका लागि ट्रयाम्फ मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलास चन्द एन्ड कम्पनीले एक÷एक नयाँ कलरमा ट्रायम्फ स्पीड र स्त्र्mयाम्बलर सार्वजनिक गरेको छ। कम्पनीले स्पीड ४०० को यल्लो कलर र स्क्र्यामको रेड कलर सार्वजनिक गरेको हो। नयाँ कलर एक्स्पो प्रदर्शनीमा राखे पनि यसको मूल्यमा कुनै परिर्वतन गरेको छैन।
बेलायती ब्रान्ड ट्रायम्फमा ३९८.१५ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। यसको टप स्पिड १६७ किलोमिटर प्रतिघन्टा रहेको छ। यसको फ्युल ट्यांक १३ लिटरको रहेको छ। यो बाइकले २३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। स्पिड ४०० नीलो, रातो र कालो गरी तीन कलर अप्सनमा उपलब्ध छ।
ट्रायम्फ स्पिड ४०० मा ४०० सीसीको टीआर–सिरिज इन्जिन, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको आल्मुनियम स्विङ आर्म समावेश रहेको छ। यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको आल्मुनियम ह्विल प्रदान गरिएको छ। स्क्याम्बलर ४०० एक्स मा ४३ मिलिमिटरको पिस्टन फोकर्स, एड्जस्टेबल रियर मोनोसक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्याम्बलर एर्गोनोमिक्ससहितको प्रिमियम सस्पेन्सन समावेश छ।
साथै, स्विचेबल बोस एबीएस, एलइडी लाइटिङ, ह्यान्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ। ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको आकर्षक लुक्स, १९–इन्चको फ्रन्ट ह्विल, र १७ इन्चको रियर ह्विल, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ।
यी दुवै मोडलमा ६ स्पिड गियरबक्स जडान गरिएको छ। बाइकमा ट्रयाक्सन कन्ट्रोल, स्लिपर क्लच, राइड वाई वायरजस्ता अत्याधुनिक फिचर छन्। त्यसैगरी ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वीललगायत फिचर यी दुई मोटरसाइकलमा छन्। यी दुई मोडलमा समान फिचर छन्।
रोयल इन्फिल्ड

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सपोमा नयाँ मोडल सार्वजनिक नगरे पनि ४ वटा पुरानै मोडल प्रदर्शनीमा राखेको छ। रोयल इनफिल्डले हन्टर ३५०, हिमालयन ४५० र क्लासिक ३५० का दुई भिन्न मोडल डार्क एडिसन र टप भेरिएन्ट प्रदर्शनीमा राखेको हो।
हन्टर ३५० युवा पुस्तालाई लक्षित गरी डिजाइनको बाइक हो। यसको मूल्य ४ लाख ७९ हजार ८ सय रुपैयाँ छ। रोयल इन्फिल्डको क्लासिक ३५० पुरानो मोडल हो। जुन अघिल्लो पुस्तादेखि नै लोकप्रिय मानिन्छ। क्लासिक ३५० को दुई मोडल, डार्क एडिसन र टप भेरिएन्टले पुरानो र नयाँ पुस्ता दुवैलाई एकसाथ जोड्ने काम गर्छ। यसको मूल्य ५ लाख ५५ हजार पर्छ।
रोयल इन्फिल्डको हिमालयन ४५० सबै प्रकारका भू–भागका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ। यसको शक्तिशाली इन्जिन र बलियो बनाबटले अप्ठ्यारो सडकमा पनि सहज यात्रा अनुभव दिने कम्पनीको दाबी छ। यो बाइकको मूल्य ९ लाख ९९ हजार ८ सय रुपैयाँ पर्छ।