काठमाडौं। गत साउन २० मा भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा गएको बाढीपहिरोमा परेर जाजरकोटका १३,बर्दियाका ४ र धादिङका ४ जना गरी २१ नेपाली नागरिक बेपत्ता भएका छन्।
बाढीपहिरोमा परेर जाजरकोटको कुशे गाउँपालिका–२ का १३ र बर्दियाको मधुवन नगरपालिकाका ४ जना बेपत्ता भएका छन्।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बाढीपछि सम्पर्कमा नआएको जानकारी दिए।
उनले भने, ‘बाढीपछि बेपत्ता भएका हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।’ बेपत्ताको खोजी गरिदिन गाउँपालिका अध्यक्ष बस्नेतले सरकारी निकायलाई परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेका छन्।
सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको पुष्टि गरे।
उनले भने, ‘जिल्लाका सबै स्थानीय तह र रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्षिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम संकलन गर्न निर्देशन दिएको छु । गृह मन्त्रालयमा समेत सोहीअनुसारको रिपोर्टिङ गरिएको छ।’
यस्तै, उत्तरकाशी बाढीपहिरोमा बर्दियाका ४ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासनसँग सहयोग मागेका छन्। बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आफन्त र उत्तराखण्डमा रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो।
बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
धादिङमा चार जना सम्पर्कविहीन
उत्तरकाशी बाढीपहिरोमा परेर धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएको परिवारले प्रशासनलाई जानकारी दिएका छन्।
स्थानीयसमेत रहेका ज्वालामुखी–२ का वडासदस्य धनबहादुर तामाङका अनुसार ५३ वर्षीय लालबहादुर तामाङ, ६५ वर्षीय छोलामा तामाङ, ५५ वर्षीय फेलामा तामाङ र ४८ वर्षीय सिंहबहादुर तामाङ सम्पर्कविहीन छन्।
वडासदस्य तामाङले उनीहरू बाढी गएको उत्तरकाशीस्थित धराली बजारमा ज्याला मजदुरी गर्न गएको बताए। परिवारका सदस्यले प्रहरी चौकी मैदीलाई त्यसबारे जानकारी गराएका थिए।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले यसबारे जानकारी आएपछि तत्कालै तालुकका कार्यालयमा जानकारी गराइएको बताए। सम्पर्कविहीन भएकालाई खोज्न उनीहरूका परिवार उत्तराखण्डतिर जान लागेको वडा सदस्य तामाङको भनाइ छ।

प्रधानमन्त्री ओली चिन्तित
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेकामा दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उत्तरकाशी बाढीमा १७ बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले बाढीपहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको र ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रधानमन्त्री ओली हाल संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा तुर्कमेनिस्तान भ्रमणमा छन्।