काठमाडौं। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु खेती किसानले आन्दोलन चर्काउने तयारी गरेका छन्। यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाएको उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम यसपालि बजेटमा नपरेपछि किसानले देशव्यापी विरोधका क्रममा सर्लाही र महोत्तरीबाट आन्दोलन सुरु गरेका हुन्।
उखु उत्पादक महासंघको नेतृत्वमा हाल सञ्चालित १४ वटै चिनी उद्योग अगाडि टायर बालेर किसानले सांकेतिक विरोध प्रदर्शन गरिरहेका हुन्।
सरकारले समयमै माग सम्बोधन नगरे भदौ ८ देखि माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरिने र भदौ ७ देखि उखु उत्पादन हुने जिल्लाका किसान काठमाडौंमा भेला हुने कार्यक्रम तय भएको महासंघ संघर्ष समितिका केन्द्रीय संयोजक श्यामबाबु रायले बताए।
यसअघि साउन १८ मा उखु किसानले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात बुँदे ज्ञापनपत्र बुझाउँदै बाँकी भुक्तानी, अनुदान तथा न्यूनतम समर्थन मूल्य तोक्न माग गरिसकेका छन्। जेठ २०७९ देखि कात्तिकसम्म किसानले बिक्री गरेको उखुको मूल्य चिनी उद्योगले अझै नबुझाएको महासंघले बताएको छ।
महासंघका अनुसार सो अवधिमा किसानले करिब २ लाख टन उखु चिनी उद्योगलाई बिक्री गरेका छन् भने त्यसबापत करिब १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी बाँकी छ।
महासंघका अनुसार हाल प्रतिहेक्टर उखु खेती गर्न २ लाख रुपैयाँ बढी खर्च लाग्ने गरेको छ । मल, बिउ, औषधी, सिँचाइ, यान्त्रिक औजार, श्रमिक खर्च र यातायात लागत महँगो भएकाले थप मारमा परेको किसानको गुनासो छ।
सरकारले बजेट अभाव देखाउँदै उखु किसानलाई विगतमा दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ। हाल मधेस प्रदेशका सर्लाही, रौतहट, बारा, महोत्तरी र सिरहामा चिनी उद्योग सञ्चालनमा छन्।
कोसी प्रदेशमा मोरङ, लुम्बिनीमा नवलपरासी र सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर र कैलालीमा गरी १६ वटा चिनी उद्योग सञ्चालनमा छन्। उखु नपाउँदा दुई चिनी उद्योग बन्दावस्थामा छन्।
कृषिमन्त्री रामनाथ अधिकारीका अनुसार मन्त्रालयसँग उखु किसानलाई अनुदानका लागि विनियोजन गरेको यो वर्षको बजेट २ अर्ब २५ करोड रुपैयाँ हो, जुन १ करोड ४५ लाख खर्च भइसकेको छ। बाँकी ७५ देखि ८० करोड सबै उखु किसानलाई दिँदा प्रतिक्विटल ३५ रुपैयाँ मात्र पुग्छ । सरकारले २०७५ देखि किसानकै खातामा अनुदानको पैसा हाल्न सुरु गरेको थियो।
आइतबार जिल्ला प्रशासन कार्यालयमा उखु किसानले प्रधानमन्त्री ओलीलाई ज्ञापन पठाउँदै अनुदान यथावत् गर्नुपर्ने मागसहित विरोध सुरु गरेका छन्। किसानले मंगलबार गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरेका हुन्। महोत्तरीमा उखु खेती किसानको संख्या १५ हजार हाराहारी छ।
‘यस वर्षको बजेटमा अनुदानको विषय नसमेटिएपछि निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं,’ उखु उत्पादक कृषक संघ अध्यक्ष नरेशसिंह कुशवाहाले भने, ‘माग सुनवाइ हुने आसमा छौं।’
उखु किसान आफ्ना प्रतिनिधि संस्था उखु उत्पादक कृषक महासंघ र उखु उत्पादक कृषक संघका पदाधिकारी संयुक्त रुपमा आन्दोलनमा छन्।