काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टर्मिनल भवन आन्तरिक उडानमा रहेका यात्रुहरुका लागि प्रयोग गरिने भएको छ। यात्रुको चापका कारण आन्तरिक टर्मिनल भवन खचाखच हुने भएकाले गुनासो बढ्न थालेपछि अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन प्रयोग गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले गृहकार्य अगाडि बढाएको हो।
आन्तरिक टर्मिनल भवनको वार्षिक क्षमता १० लाख यात्रुको हो। अहिले १० लाखभन्दा बढी यात्रुहरुले आन्तरिक टर्मिनल प्रयोग गर्दै आएका छन्। ‘यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै प्रयोगविहीन बनेको अन्तर्राष्ट्रियतर्फको टर्मिनल प्रयोग गर्ने विषयमा अन्तरिम चरणमा छलफल भइरहेको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अबको केही दिनभित्रै निर्णय हुन्छ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फको टर्मिनलको क्षमता वार्षिक १५ लाख यात्रुको हो। काठमाडौंपछि सबैभन्दा बढी आन्तरिक यात्रुहरु आवजावत गर्ने विमास्थलभित्र पोखरा पर्ने गरेको छ। विदेशी पर्यटकहरु पोखरा विमानस्थलमार्फत यात्रा गर्ने गरेका छन्। हाल रहेको टर्मिनल भवन पुरानो भएको र प्लेन डिले हुँदा यात्रु व्यवस्थापन गर्न मुस्किल पर्ने गरेको प्राधिकरणको भनाइ छ।
अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा टर्मिनल भवन प्रयोग गर्ने र आन्तरिकतर्फको मर्मत सम्भारसहित क्षमता बढाउने तयारी प्राधिकरणले गरिरहेको जनाएको छ। ‘अन्तर्राष्ट्रियतर्फको टर्मिनल भवन निर्माण भएर पनि प्रयोग नभइरहेको र अर्कोतर्फ आन्तरिक टर्मिनल खचाखच भइरहेको अवस्थामा प्राधिकरणले अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रयोग गर्न लागेको हो,’ ती अधिकारीले भने, ‘यात्रुले पनि सुविधा पाउने र विमानस्थललाई पनि यात्रु व्यवस्थापन गर्न सहज हुन्छ।’
पोखरा विमानस्थलमा हाल आन्तरिकतर्फ वार्षिक १० लाखभन्दा बढी यात्रुले यात्रा गरिरहेका छन्। पछिल्लो ६ महिना जुन २०२५ सम्ममा चार लाख २४ हजार जनाले यात्रा गरिसकेका छन्।
अन्तर्राष्ट्रिय उडानको विकल्प
यस विमानस्थलको प्रमुख लक्ष्य अन्तर्राष्ट्रिय उडान रहेको छ। तर, हाल अन्तर्राष्ट्रिय उडान नियमित नहुँदासम्म विकल्पको रुपमा आन्तरिक उडानका लागि प्रयोग गर्न लागिएको प्राधिकरणले जनाएको हो।
नेपालीहरुको प्रमुख चाडपर्व सुरु हुन थालेको र पर्यटनको मौसम सुरु हुँदै छ। नेपालमा अगष्ट, सेप्टेम्बर, नोभेम्बर र डिसेम्बरसम्म धेरै विदेशी पर्यटकहरु आउने गरेका छन्। त्यो सिजनमा पोखरालगायतका आन्तरिक विमानस्थलमा उडान खचाखच हुने गरेको छ।
सम्भव भएसम्म अब सुरु हुने सिजनबाटै अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन प्रयोग गर्ने गरी निर्णय गर्न प्राधिकरणमा पोखरा विमानस्थलले प्रस्ताव पठाएको जनाएको छ।
विं.सं. २०७९ सालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि हालसम्म नियमित उडान हुन सकेको छैन। केही उडान हिमालय एयरलाइन्स र सिचुवान एयरलाइन्सले चीनको छेन्दुमा गरे पनि नियमित हुन सकेको छैन। अन्य केही एयरलाइन्सहरुले पनि उडान गर्ने प्रस्ताव गरे पनि हालसम्म सञ्चालन हुन सकेको छैन।